राष्ट्रिय बिमा र बिमा संस्थानले थाले पुँजी वृद्धिको गृहकार्य
काठमाडौं, २३ चैत्र । नियामक बिमा समितिले चुक्ता पुँजी वृद्धिको निर्णय गरेपछि सरकारी स्वामित्वका दुई कम्पनीहरूले यसका लागि गृहकार्य थालेका छन् ।
राष्ट्रिय बिमा कम्पनी लिमिटेड र राष्ट्रिय बिमा संस्थान दुवै कम्पनीले पुँजी वृद्धिको योजना बनाउन समिति गठन गरेर आन्तरिक गृहकार्यमा लागेका हुन् । समितिले पुँजी वृद्धिको योजना एक महिनाभित्र पेश गर्न निर्देशन दिएको छ । पुँजी वृद्धि योजना पेश गर्ने समय धेरै छैन ।
सरकारी कम्पनीले नै समितिले तोकेको चुक्ता पुँजी नर्याएको भन्दै पटक–पटक आलोचना हुँदै आएको छ । तर, यस पटक भने दुवै कम्पनीले बिमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन प्रतिबद्ध रहेको जनाएका छन् ।
राष्ट्रिय बिमा कम्पनीले चुक्ता पुँजी वृद्धिको योजना बनाउन लेखा विभागलाई जिम्मेवारी दिएको छ । अहिले लेखा विभाग प्रमुख मोहन तिम्सिना पुँजी वृद्धिको योजनामा जुटेका छन् ।
हाल राष्ट्रिय बिमा कम्पनीको पुँजी २६ करोड रुपैयाँ मात्रै छ । निर्जीवन जीवन बिमा व्यवसाय गर्दै आएको राष्ट्रिय बिमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने छ । समितिले तोको न्यूनतम पुँजी पुर्याउन उसलाई थप २ अर्ब २३ करोड रुपैयाँ आवश्यक छ ।
जीवन बिमा व्यवसाय गर्दै आएको राष्ट्रिय बिमा संस्थानको पुँजी १८ करोड २ लाख रुपैयाँ रहेको छ । बिमा समितिका अनुसार संस्थानले अब चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्याउनु पर्ने छ ।
संस्थानले २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने योजना समितिमा पेस गरेको थियो । तर, उक्त योजना पास नहुँदै नियामक समितिले थप पुँजी बढाएर ५ अर्ब रुपैयाँ पुर्याएपछि उसलाई समस्या आएको छ ।
५ अर्ब रुपैयाँ पुँजी पुर्याउने विषयका गृहकार्य गर्न खड्काको संयोजकत्वमा समिति गठन भएको हो । तर, एक जना सदस्य उपत्यका बाहिर रहेका कारण बैंठक बस्न सकेको छैन ।