अर्थतन्त्र सामान्य बन्दै गएको छ : मन्त्री शर्मा

काठमाडौं, २९ चैत । सरकारले पछिल्लो दुई वर्षदेखिको कोरोना कहरका कारण प्रतिकूल प्रभावमा परेर शिथिल भएको अर्थतन्त्र सामान्यीकरण बन्दै गएको स्पष्ट पारेको छ ।
कोभिड १९ महामारीको कारण प्रभावित आर्थिक गतिविधि सामान्यीकरण हुँदै गएको तथ्य पेश गर्दै सरकारले २०७६ साल फागुनको तुलनामा २०७८ कार्तिक महिनासम्म करिव ९८ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा आएको, सेवा क्षेत्रमा क्रमशः सुधार हुँदै गएको विवरण सार्वजनिक गरेको छ । अर्थमन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले उद्योगको दर्ता एवं प्रत्यक्ष वैदेशिक रोजगारीमा पनि क्रमशः सुधार हुँदै गएको जानकारी दिनुभयो । उहाँले यसबाट आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पर्न जाने विश्वास व्यक्त गर्नुभयो ।
वित्त नीति तथा मौद्रिक नीति सम्बद्ध उपकरणको प्रभावकारी कार्यान्वयन, विदेशी विनिमय सञ्चिती, विप्रेषण आप्रवाह, उद्योग व्यवसाय सञ्चालनमा भएका बढोत्तरी, कम उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह निरुत्साहन, अनुत्पादक क्षेत्रका वस्तु आयात निरुत्साहनले सकारात्मक नतीजा निकाल्ने उहाँको भनाइ छ ।
यस्तै, सुन आयातमा कटौती, बैंकमार्फत विप्रेषण आप्रवाहमा थप ब्याज प्रोत्साहन, वैदेशिक सहायता प्राप्तिको प्रतिबद्धता समेतबाट अर्थतन्त्रको वाह्य दबाबको उपयुक्त व्यवस्थापन हुँदै जाने अर्थमन्त्रीको भनाइ छ । विदेशी मुद्रा सञ्चितीको अवस्था सामान्य नै रहे पनि यसलाई बढाउन विप्रेषण आप्रवाह बैंकमार्फत गर्ने, विलासी वस्तुको आयात घटाउने, विदेशी लगानीको उपयुक्त वातावरण तयार गर्ने, वैदेशिक सहायताको सोधभर्ना समयमै प्राप्त गर्ने, पुँजीगत खर्च बढाउने, उत्पादनशील क्षेत्रमा लगानी बढाउनेजस्ता विषयमा विश्लेषण तथा विमर्श गरी सोहीनुसार नीति निर्माण र कार्यान्वयन गर्न गराउन अर्थ मन्त्रालय अग्रसर रहेको उहाँको भनाइ छ ।