पर्यटनमा सुधार हुँदै
काठमाडौं, ४ वैशाख । विदेशी मुद्रा आम्दानीको मुख्य स्रोत पर्यटन क्षेत्रमा सुधार हुने आशा देखिएको छ ।
महामारीको प्रभावमा केही न्यून भएपछि अहिले भने नेपालमा पर्यटनले लय समात्न थालेको छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा आउने पर्यटकको संख्यामा वृद्धि देखिएको छ । एक महिनाको मात्र होइन आउने महिनाहरूको माग पनि उत्तिकै बढ्दै गएकोले पर्यटन क्षेत्रले लय समात्न थालेको व्यवसायीहरूले बताउन थालेका छन् ।
विदेशी पर्यटकको आगमन जति धेरै बढ्छ स्वभाविक रुपमा नपाल भित्रिने विदेशी मुद्रा पनि बढ्छ ।
सन् २०२२ को मार्चमा ठिक दुई वर्षअघिको आँकडामा पर्यटक आएका छन् । सन् २०२० को मार्च जुन नेपालमा लकडाउन लागू हुनुपहिलेको महिना हो । त्यतिबेला धमाधम विदेशीले बुकिङ रद्ध गरिरहेका थिए भने नेपालमा रहेकाहरू विदेश गइरहेका थिए । २०२० को फेब्रुअरीमा ९८ हजार पर्यटक आएका थिए भने त्यपछिको महिना ४२ हजार ७७६ पर्यटक आएका थिए ।
अप्रिल २०२० देखि लकडाउन लागू भइसकेको थियो । त्यसपछि पर्यटक शून्य भयो । २०२१ मा महामारी सामान्य हुँदै गएपछि केही पर्यटक आएपनि फेरि भेरियन्टको प्रभाव भएपछि घटेका थिए । तर २०२२ को मार्चमा ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका छन् । यो दुई वर्ष अघिकै अवस्था हो ।
सन् २०२२ को पहिलो महिना १६ दोस्रो महिना १९ हजार भित्रिएका थिए । बसन्तकालीन हिमाल आरोहनको सिजन चल्दैगर्दा मार्चमा भने एकैपटक ४२ हजार पर्यटक भित्रिनु राम्रो संकेत भएको नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछाने बताएका छन् ।
मार्चमा ४२ हजार भित्रिनु लकडाउनअघिको अवस्थामा मात्र पर्यटन अवस्था पुगेको होइन कि अझै बढ्ने संकेत हो । अबका दिनमा क्रमिक रुपमा संख्या बढ्दै जाने विश्वास पर्यटन व्यवसायीको छ ।
अहिलेदेखि नै जुलाई तथा अगष्टसम्मका लागि बुकिङ आउन थालेको होटल व्यवसायी योगेन्द्र शाक्यले बताए ।