भानुभक्त प्राणी उद्यान : साढे ४६ करोड आवश्यक

काठमाडौं, ४ वैशाख । तनहुँको व्यास नगरपालिका १२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानले जग्गा अधिग्रहणको कामलाई अगाडि बढाएको छ ।
रैथाने र गैररैथाने वन्यजन्तुको संरक्षण गर्ने, वन्यजन्तु संरक्षणमार्फत आमोदप्रमोद प्रदान गर्ने, वन्यजन्तुको वैज्ञानिक अध्ययन अनुसन्धान गर्ने उद्देश्यसहित स्थापना भएको सो उद्यानले जग्गा अधिग्रहणको कामलाई अगाडि बढाएको हो ।
प्राणी उद्यानले व्यास नगरपालिका ११, १२, भानु नगरपालिका ५ र ६ का भाग समेटेको छ । उद्यानले अधिग्रहण गर्ने जग्गा, घरटहरा, खेतबारीको मुआब्जा निर्धारण गर्ने काम सकिएको संरक्षण अधिकृत भोजराज पन्थले जानकारी दिए ।
उक्त कार्यका लागि कूल ४६ करोड ५२ लाख एक हजार ७३० रुपैयाँ आवश्यक पर्छ । जग्गाको मुआब्जा वितरणका लागि अर्थमन्त्रालयमा फाइल पठाइएको र बजेट स्वीकृत भएर आएपछि मुआब्जा वितरणको काम सुरु हुने उनले बताए ।
प्राणी उद्यानभित्र परेका १२६ जग्गाधनीको ९६१ रोपनी जग्गा अधिग्रहण गरिने छ । त्यसका लागि ४३ करोड ८७ लाख नौ हजार ४४३ मुआब्जा निर्धारण गरिएको छ । त्यस्तै उद्यानभित्र परेका घरटहराका लागि ५८ लाख सात हजार ५७९ र छुट भएका १६ जग्गाधनीको जग्गा अधिग्रहणका लागि २ करोड ६ लाख ८४ हजार ७०७ मुआब्जा निर्धारण गरिएको छ ।
प्राणी उद्यान कूल ४२५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । उद्यानले १३ वन क्षेत्रलाई समावेश गरेको छ । प्राणी उद्यान क्षेत्रभित्र पर्ने आठ सामुदायिक वन र पाँच कबुलियती वन गरी १३ वन क्षेत्र समावेश गरिएको छ ।
उद्यानले २९७.४७ हेक्टर संरक्षण इलाका र १२७.५३ उपयोग इलाका निर्धारण गरेको छ । संरक्षण इलाकाभित्र घना वन क्षेत्र, भिरालो र पहुँच नभएको क्षेत्र पर्दछ भने उपयोग इलाकाभित्र कम भिरालो, पानीका स्रोत पर्दछ ।