काममा फर्किए गभर्नर अधिकारी

काठमाडौं, ७ वैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबारदेखि काममा फर्किएका छन् ।
१२ दिनको विश्रामपछि गर्भनर अधिकारी नेपाल राष्ट्र बैंक फर्किएका हुन् । उनी बुधबार राष्ट्र बैंकमा हाजिर भएका हुन् ।

अधिकारीलाई राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कर्मचारीहरूले स्वागत गरेका छन् । फेरी पदभार ग्रहण गर्दै उनले अर्थमन्त्रालयसँग मिलेरै काम गर्ने प्रतिवद्धता दिए । गर्भनर अधिकारीले केन्द्रीय बैंकमा राजनीतिक हस्तक्षेप हुँदा समस्या पर्ने भएकाले सर्वोच्चको आदेश पालना गर्नुपर्नेमा जोड दिए ।
राष्ट्र बैंक फर्किएका गभर्नर अधिकारीले काम गर्न कुनै अफ्ठ्यारो नपर्ने बताएका छन् । संचारकर्मीहरुलाई प्रतिक्रिया दिने क्रममा उनले अर्थमन्त्रीसँग समेत सहकार्य गर्न सहज उनले बताएका हुन् ।
सर्वोच्च अदालतले अधिकारीलाई निलम्बन गर्ने मन्त्रिपरिषद्को चैत २४ को निर्णय तत्काल कार्यान्वयन नगर्न मंगलबार आदेश दिएपछि अधिकारी बुधबारदेखि फेरि काममा फर्किएका हुन् ।
अधिकारीको निलम्बनका विषयमा छलफल गर्न सर्वोच्चले वैशाख १३ गते दुबै पक्षलाई बोलाएको छ ।