Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

गरिबीका कारण रोग पालेर बस्नुपर्ने बाध्यताको अन्त्य गरिनुपर्छ : अर्थमन्त्री शर्मा

गरिबीका कारण रोग पालेर बस्नुपर्ने बाध्यताको अन्त्य गरिनुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं, १२ वैशाख । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणलाई तिव्रता दिएको छ। मन्त्रालयले आगामी बजेटका लागि बजेट निर्माण प्रक्रियालाई तीव्र पार्दै विभिन्न मन्त्रालयसँगको छलफल बढाएको हो।

सोही क्रममा आइतबार बिहान शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय र दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेको छ । दुवै मन्त्रालयलाई आगामी आवका लागि विनियोजित बजेटको सिलिङ र त्यस भित्र राखिएका कार्यक्रमबारे छलफल गर्न अर्थ मन्त्रालयमा बैठक राखिएको थियो ।

बिहान शिक्षा मन्त्रालयसँग भएको बैठकमा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले विद्यालय छाड्ने प्रवृत्तिलाई रोक्ने गरी कार्यक्रम बनाउनुपर्ने बताएका छन् । ‘१ कक्षामा भर्न भएका विद्यार्थीहरु ५ कक्षा पुग्दा धेरैले पढाई छाड्छन् । अझै माथिल्लो स्तरका कक्षामा पुग्दा भर्ना हुने बिद्यार्थी संख्या बिस्तारै कम हुँदै गएको देखिन्छ’ उनले भने, ‘विद्यालयमा भर्ना भएर पढाई छाड्नुको कारण के हो ? यसको सोधखोज गरेर विद्यालय भर्ना भएका विद्यार्थीलाई कुनै हालतमा पढाई नछाड्ने वाताबरण बनाउन के गर्नुपर्छ, सोही अनुसार बजेट र कार्यक्रम राखौं ।’

उनले पढाई र सिकाई प्रकृयालाई समयको बदलावसँगै परिवर्तन गर्न डिजिटल प्रविधितर्फ जानुपर्ने धारणा राखेका थिए । आगामी आबको बजेटबाटै केही विद्यालयमा डिजिटल प्रविधिको पढाई शुरु गर्ने गरी कार्यक्रम राख्न शर्माले निर्देशन दिएका थिए ।

आइटी कलेज स्थापना जरुरी भएको भन्दै उहाँले त्यसमा पनि बजेट राख्नुपर्ने बताएका थिए । ‘धेरै कार्यक्रममा निरन्तर बजेट हालिएको छ तर प्रतिफल आउन सकेको छैन । त्यसैले प्रतिफल योग्य कार्यक्रम बनाई बजेट बनाउनेतर्फ अग्रसर हुनुपर्छ’ उनले भने ।

बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षा नसुध्रिए सबैतिर भद्रगोल हुने भन्दै गुणस्तरीय शिक्षामा बजेट र कार्यक्रम समेट्नुपर्ने बताए। उनले शिक्षामा सुधार गरेर मुलुकको विकासमा समेत टेवा पुर्‍याउनुपर्ने धारणा राखे। ‘यसपटक शिक्षामा अलि मन फुकाएर बजेट राखौं । बरु के कस्ता कार्यक्रम राख्ने भन्ने सबैले सल्लाह गरौंला’ उनले भने।

छलफलमा योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले लामो दुरी तय गरेर विद्यालय जानुपर्ने बाध्यता हटाउनुपर्ने बताए। उनले सरकारी पैसामा अध्ययन गर्ने र काम गर्ने बेला बिदेश जाने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताए । ‘मज्जाले सरकारी पैसामा पढेर नेपालमै काम गर्ने जनशक्ति उत्पादन गर्ने हो । बिदेश जाने जनशक्ति उत्पादन गर्न खोजेको होइन भन्ने सन्देश बजेटबाट दिनुपर्छ’ उनले भने ।

छलफलमा अर्थ सचिव मधुकुमार मरासिनीले मन्त्रालयहरूको बजेट थपघट हुनु स्वभाविक भएको बताए । ‘हरेक बर्ष बजेट बढ्नैपर्छ भन्ने दाबी छ, यसो होइन । शिक्षाको बजेट आफैंमा पनि सानो हुने गरेको छैन’ सचिव मरासिनीले भने ।​

आगामी आवको बजेट निर्माणका बिषयमा आइतबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग भएको छलफलमा अर्थमन्त्री जनार्दन शर्माले गरिबीका कारण रोग पालेर बस्नुपर्ने बाध्यताको अन्त्य गर्नेगरी बजेट बनाउनुपर्ने धारण राखे । अर्थ मन्त्रालयमा भएको छलफलमा मन्त्री शर्माले गरिबीमुक्त गरी रोग लाग्नबाटै जोगाउने गरी स्वास्थ्य मन्त्रालयबाट बजेट र कार्यक्रम प्रस्ताव गर्न आग्रह गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x