Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

झन्डै ३४ अर्बको लगानीमा सिमेन्ट उद्योग

झन्डै ३४ अर्बको लगानीमा सिमेन्ट उद्योग

काठमाडौं, २० वैशाख । चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा सिमेन्ट उद्योगमा झन्डै ३४ अर्बको लगानी प्रतिवद्धता आएको छ । जसबाट प्रमाण भयो कि नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको छ । तर अझै पनि सिमेन्ट उत्पादन गर्न भन्दै उद्योगमा लगानी थपिइरहेको छ ।

अहिले नेपालमा ५ दर्जनभन्दा बढी उद्योगबाट सिमेन्ट उत्पादन हुँदै आएको छ । नेपालमा उत्पादित सिमेन्ट निर्यात गर्ने अवस्थामा समेत उद्योगहरू पुगिसकेका छन् । तर निर्यातमा समस्या देखिएको छ ।

उद्योग विभागका अनुसार बैशाख ११ गते मात्रै १४ अर्ब २७ करोड रुपैयाँको लगानी सिमेन्ट उत्पादन गर्ने गरी सूर्यतारा सिमेन्ट उद्योग दर्ता भएको छ । यो उद्योगले गर्ने लगानीको विषय चैत १७ गते मात्रै लगानी बोर्डको बोर्ड बैठकले स्वीकृति दिएको थियो ।

कर्णाली प्रदेशको सुर्खेतमा १४ अर्ब २७ करोडको लगानीमा सूर्यतारा सिमेन्ट उद्योग स्थापना हुने भएको हो । कर्णाली प्रदेशको सुर्खेत जिल्लाको चोकुने गाउँपालिकाको वडा नम्बर ९ मा उद्योग रहेको छ । उद्योगमा कुल १४ अर्ब २७ करोड ५० लाख रुपैयाँका लगानी रहने छ । सत प्रतिशत नेपाली लगानी रहेको उद्योगमा ६ सस जनाले रोजगारी पाउने छन् ।

उद्योगले २२ हजार केभिए बिजुलीसमेत खपत गर्ने छ । कर्णाली प्रदेशमा खुलेको यो सिमेन्ट उद्योग त्यो क्षेत्रकै सबैभन्दा ठूलो उद्योग हो । उद्योगले ३ प्रकारको सिमेन्ट र क्लिङकर उत्पादन गर्ने भएको छ ।

उद्योगले वार्षिक ५ लाख ७४ हजार २ सय मेट्रिक टन ओपीसी, पीपीसी सिमेन्ट वार्षिक २ लाख ८७ हजार १ सय मेट्रिक टन र पीएससी वार्षिक ९५ हजार ७ सय मेट्रिक टन उत्पादन गर्ने जनाएको छ । यसैगरी २८ हजार ५ सय ४ मेट्रिक टन क्लिङकर उत्पादन गर्ने भएको छ ।

यसैगरी नवलपरासीमा ३० करोड रुपैयाँको लगानीमा घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेढ (प्याकेजिङ १) उद्योग दर्ता भएको छ । उद्योगले वाषिर्क एक लाख ६५ हजार मेट्रिक टन ओपीसी र १ लाख ६५ हजार मेट्रिक टन नै पीपीसी सिमेन्ट प्याकेजी गर्ने भएको छ । उद्योगमा सतप्रतिशत नेपाली लगानी रहेको छ भने ४८ जनाले रोजगारी पाउने समेत दर्ता विवरणमा उल्लेख छ ।

एचएस इन्भेष्टमेन्ट प्रालिले पनि पनि दाङ सिमेन्टमा १३ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिवद्धतासँगै उद्योग दर्ता गराएको छ ।

यसैगरी बाँकेमा घोराही सिमेन्ट इण्डष्ट्रि लिमिटेड (सिमेन्ट प्याकेजिङ) उद्योग दर्ता भएको छ । २१ करोडको लगानी रहेको उद्योगले वार्षिक १ लाख २० हजार सिमेन्ट प्याकेजिङ गर्ने दर्ता विवरणमा उल्लेख छ ।

कपिलवस्तुमा ५ अर्ब ९० करोड रुपैयाँको लगानीमा गौरीशंकर सिमेन्ट उद्योग स्थापना हुने भएको छ । उद्योगले वार्षिक ७ लाख २६ हजार मेट्रिकटन सिमेन्ट क्लिङकर उत्पादन गर्ने दर्ता विवरणमा समावेश गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x