निगमको बोर्डिङ पास नै हस्तलिखित
काठमाडौं,२७ वैशाख । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले यात्रुलाई हस्तलिखित बोर्डिङ पास दिन थालेको छ । एयरलाइन्सको उडानमार्फत यात्रा गर्ने यात्रुलाई हस्तलिखित बोर्डिङ पास दिन थालिनुले निगम व्यवस्थापनभित्रको लापरबाही देखिएको छ ।
विगतमा बोर्डिङ पास हस्तलिखित थिएन। व्यवस्थापनले प्यासेन्जर सर्भिस सिस्टम (पीएसएस)को नविकरण गर्न नसक्दा बोर्डिङ पास हस्तलिखित नै दिन सुरु भएको हो । विगतका व्यवस्थापनले गर्दै आएको पीएसएस अहिले नवीकरण नगर्दा बोर्डिङ पास हस्तलिखित भएको हो ।
निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले पीएसएस नवीकरण गर्दा आर्थिक लाभ नपाउने अवस्था आएपछि नवीकरण नै नगरेको निगम स्रोतको भनाइ छ ।
जसका कारण बोडिङ पास हस्तलिखित गर्नु परेको निगमका एक कर्मचारीले बताए । ‘सामान्य काममा पनि कमिसन खोज्दा बोर्डिङ पास पनि हस्तलिखित गर्नु परेको छ,’ निगम स्रोतले भन्यो, ‘यो निगम व्यवस्थापनभित्रको चरम लापरबाहीको एउटा उदाहरण हो । यसबाट निगमकै छविमा आँच आउने अवस्था आएको छ ।’
निगमले अहिले अन्तर्राष्ट्रिय उडानमा ४ वटा जहाजमार्फत उडान गर्दै आएको छ । निगमले अहिले भारतको ३ वटा सहर, जापानको नारिता, साउदी अरेबिया, दुबई, कतार, मलेसिया, हङकङ र थाइल्यान्डमा उडान गर्दै आएको छ ।