Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

हप्तौंसम्म फोहोर नै नउठ्ने महानगरमा समृद्धिको सपना कसरी देख्ने ?

हप्तौंसम्म फोहोर नै नउठ्ने महानगरमा समृद्धिको सपना कसरी देख्ने ?

काठमाडौं, ६ जेठ । भर्खरै सम्पन्न स्थानीय तहको चुनावको मतपरिणाम आउँदै छ । सबैको ध्यान यतिबेला कुन स्थानीय तहमा कुन पार्टीका कसले जिते भन्नेमा छ । त्यसमा पनि काठमाडौं महानगरपालिकाको चुनावी मतपरिणामले यति बेला अन्य विषयहरू भने ओझेलमा परेका छन् । त्यसैकै एक उदाहरण हो– हप्तौंदेखि थुप्रिएको फोहोर ।

काठमाडौं महानगरपालिकाको फोहोर विसर्जन हुँदै आएको नुवाकोटको सिसडोल क्षेत्रमा स्थानीयले अवरोध गरेको कारण देखाउँदै महानगरले फोहोर उठाउन नसक्दा काठमाडौंको वातावरण प्रदूषित बनेको छ । यतिसम्मकै देशकै प्रमुख पर्यटकयीय क्षेत्र ठमेलका सडकमा समेत फोहोर थुप्रिएर बस्दा पर्यटकहरूले सास्ती खेप्नुपरेको छ । तर यसको नकारात्मक पाटो अझै गम्भीर छ । सरकारले बाह्य पर्यटक आगमनमा जोड दिएको भनिरहँदा आएकै पर्यटकले प्रदूषणको सास्ती खेप्नुपरेपछि यसले बाह्य जगत्मा जाने सन्देशले नेपालको पर्यटन क्षेत्रको अवस्था उजागर गर्नेछ ।

यससँगै स्थानीय बासिन्दा दिनहुँ फोहोरको दुर्गन्ध सहेर बस्नु परेको छ भने बैंक तथा वित्तीय संस्थाका कर्मचारी, व्यापारी व्यवसायी, सर्वसाधारण लगायत सबै यसबाट प्रभावित भएका छन् ।

महानगर क्षेत्रमा फोहोरको थुप्रो पार गर्दै दैनिक कामकाजमा खटिन बाध्य छन् नागरिक । यस्तै सडक छेउमा फुटेका ढल व्यवस्थापन नहुँदा अर्को समस्या खेप्नुरेको छ । यसबाट सबैभन्दा बढी यात्रु र चालकहरू सबैभन्दा बढी मारमा परेका छन् । साथै भएका ट्राफिक बत्ती समेत सञ्चालनमा नआउँदा यातायात व्यवस्थापन सकसपूर्ण हुँदै गएको छ ।

चुनावी घोषणापत्रमा जनतालाई आकर्षित गर्न दलहरूले जतिसुकै ‘राम्रा र लोकप्रिय’ कार्यक्रमको घोषणा गरे पनि जनताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने फोहो र ढल व्यवस्थापन समेत गर्न नसक्दा तिनका कार्यक्रमको औचित्यमाथि नै प्रश्न उठेको छ । सम्बन्धित निकायले एकअर्को निकाय वा पक्षलाई दोष दिएर आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्नु झनै विडम्बना भएको छ । देशको संघीय राजधानी समेत रहेको काठमाडौं महानगरकै फोहोर उठाउन नसक्ने महानगरको संयन्त्रबाट नागरिकले अन्य विकास र समृद्धिको सपना कसरी देख्ने ?

महानगर भनिए पनि सेवा, सुविधा, पूर्वाधार, सरसफाइ व्यवस्थापन लगायत दृष्टिकोणले महानगर जस्तो नभएको यथार्थबीच पछिल्लो समय दैनिक फोहोर व्यवस्थापन हुन नसक्नु चुनौतीको रूपमा देखिएको छ । फोहोर व्यवस्थापन जस्तो संवेदनशील विषयमा समेत सक्रिय पहल, समन्वय र सहकार्य गर्न महानगर चुकेको छ । त्यसमाथि जेठ ५ गतेदेखि स्थानीय तहको यसअघि निर्वाचित जनप्रतिनिधिको कार्यकाल समाप्त भएकाले महानगरले नयाँ नेतृत्व नपाउँदासम्म फोहोर व्यवस्थापनको समस्या दिगो रुपमा सुल्झने छाँटकाट देखिएको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x