Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

बन्चरेडाँडाको नयाँ डम्पिङ साइटमा फोहर

बन्चरेडाँडाको नयाँ डम्पिङ साइटमा फोहर

काठमाडौं, १० जेठ । फोहर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा समस्यामा परेको काठमाडौं उपत्यकामा आज मंगलबार बिहानदेखि फोहर उठाउन थालिएको छ ।

फोहर बोकेका गाडीहरूलाई प्रहरीको सुरक्षा घेरामा धादिङको धुनिबेंसीस्थित बन्चरेडाँडामा लगेर नयाँ डम्पिङ साइटमा फोहर विसर्जन सुरू गरिएको हो ।

मंगलबार बिहान ९० वटा गाडीले बन्चरे डाँडामा बनिरहेको डम्पिङ साइटको सेल–१ मा फोहर विसर्जन गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ । बन्चरे डाँडामा फोहर विसर्जनका लागि स्थानीय बासिन्दाले विरोध गरिरहेको भए पनि सोमबार गृहमन्त्रालयमा बसेको सरोकारवालाको बैठकले बल प्रयोग गरेर भए पनि बन्चरेडाँडामा फोहर विसर्जन गर्ने निर्णय गरेको हो ।

शहरी विकास मन्त्रालयले बनाएको बन्चरेडाँडाको ल्याण्डफिल साइटमा प्रहरीको सुरक्षा दिएरै भए पनि पहिलोपटक फोहर विसर्जन गरिएको हो । स्थानीयले विभिन्न माग राखेर बन्चरेडाँडामा फोहर विसर्जन गर्न नदिने अडान राख्दै आएका थिए ।

यसअघि फोहर विसर्जन गरिएको स्थान नुवाकोटस्थित सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण सडकमै फोहर रोकिएको थियो ।

पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगरेको भन्दै स्थानीयले फोहरको गाडी सिसडोतर्फ जान नदिँदा काठमाडौंको १८ स्थानीय तहको फोहर बैशाख पहिलो सातदेखि सडकमा नै थियो । बीचमा केही समय प्रहरीकै सहयोगमा फोहर ब्यवस्थापन गरिएको भए पनि पुनः अवरोध भइरहेको थियो ।

हरेक दिन उपत्यकाबाट १ हजार २ सय मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको थियो । यसमध्ये सबैभन्दा बढी कामपाको ५ सय मेट्रिकटन फोहर निस्किने काठमाडौ महानगरपालिका जनाएको छ ।


नियमित पानी पर्न सुरु भएको र वर्षाको समयमा अन्य समयकोभन्दा बढी फोहर निस्कने हुँदा आगामी दिन फोहर व्यवस्थापनका हिसाबले थप कठिनाइ हुने देखिएको छ ।

बन्चरेडाँडामा निर्माणाधीन डम्पिङ साइट पनि अहिलेका लागि स्थायी विकल्प नभएको वातावरणविद्हरुले जनाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x