भारतले चिनी निकासी रोक्यो, मूल्य वृद्धि र अभाव हुने सम्भावना
काठमाडौं, १२ जेठ । भारतले चिनी निर्यातमा रोक लगाएको छ । भारतको यो कदमसँगै आन्तरिक उत्पादनले नपुग्ने नेपालमा चिनीको मूल्य वृद्धि हुनुका साथै अभाव समेत हुने देखिएको छ ।
नेपालमा वार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनी खपत हुने गर्छ । त्यसमध्ये नेपालमा आन्तरिक उत्पादन १ लाख ४० हजार मेट्रिक टन मात्रै छ । बाँकी माग आयात गरेर धान्ने गरिएको छ । नेपालको आन्तरिक उत्पादनले घरेलु माग धान्न नसक्ने भएकाले भारत, पाकिस्तानलगायत मुलुकबाट आयातित चिनीले धानिरहेको छ ।
विश्वव्यापी खाद्यसंकटको अवस्था आउन सक्ने अनुमानबीच भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको हो । ब्राजिलपछि विश्वमा सबैभन्दा बढी चिनी निर्यात गर्ने मुलुक भारत हो ।