Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

‘शेयर बजारमा लगानी गरी नाफा लिनेले जोखिम पनि मोल्न तयार हुनुपर्छ,’ अर्थमन्त्री खतिवडा

‘शेयर बजारमा लगानी गरी नाफा लिनेले जोखिम पनि मोल्न तयार हुनुपर्छ,’ अर्थमन्त्री खतिवडा

काठमाडौं, २६ बैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारमा गरिने लगानीको मुनाफा लिन सक्ने शेयरलगानीकर्ताहरुले जोखिम पनि मोल्न सक्नुपर्ने बताएका छन् । उक्त कुरा राजधानीको भृकुटीमण्डपमा आयोजित प्रथम पुँजी बजार प्रदर्शनी २०७५ को उद्घाटन कार्यक्रममा अर्थमन्त्री खतिवडाले बताएका हुन् । शेयर बजार बढेको बेला नाफा आर्जन गर्ने र घट्ने क्रममा घाटा हुँदा सरकारले केहि गरेन भन्ने मनस्थिती भएका लगानीकर्ताहरुलाई औंलाउँदै लगानीको प्रतिफल लिन सक्नेले जोखिम व्यवस्थापन पनि आफैले गर्नुपर्ने अर्थमन्त्रीले सुझाएका छन् । सरकार र नियमन निकायले नीतिगत सुधार र व्यवस्था मात्र गर्न हो जोखिम व्यवस्थापन लगानीकर्ताले गर्ने हो भन्ने आशय अर्थमन्त्रीको रहेको छ ।

यता शेयर बजारमा वित्तीय क्षेत्रको उपस्थिती बाक्लो भएको र अन्य क्षेत्रका कम्पनीहरुको सहभागिताका लागि अर्थमन्त्रीले आग्रह गरेका छन् । उनले अन्य क्षेत्रका कम्पनीहरुलाई शेयर बजारमा सहभागिताको लागि आग्रह गर्दा नआए बाध्यत्मक निर्देशन जारी गर्ने समेत बताएका छन् । यसरी अन्य क्षेत्रका कम्पनीहरुको सहभागिताका लागि सरकारले नीतिगत सुधारहरु गर्ने र नियमन निकायहरुलाई सरकारले सहयोग गर्ने बताए । अन्य क्षेत्रका कम्पनीहरुको शेयर बजारमा सहभागिताले पुँजी बजारको दायरा फराकिलो बन्ने अर्थमन्त्रीले बताएका छन् । यस्तै उनले पुँजी बजारमा लगानीलाई विविधिकरण गर्न विभिन्न लगानीका उपकरणहरु अभ्यासमा ल्याउन आवश्यक रहेको बताए ।

कार्यक्रममा राष्ट्र बैंकको गभर्नर डा. चिरञ्जिवी नेपालले पुँजी बजारको विकासले मुलुकको आर्थिक विकासको चित्रण गर्ने बताएका छन् । लगानीको अवसर र लगानीकर्ताहरुको पहुँच वृद्धि गर्न पुँजी बजारलाई आधुनिक बनाउन गभर्नरले जोड दिएका छन् । गभर्नर नेपालले पुँजी बजारमा विदेशी पुँजीको प्रवेश गराउन हेज फण्ड, भेन्चर क्यापिटल जस्ता नयाँ लगानीका उपकरणहरुको अभ्यासमा राष्ट्र बैंकले नीतिगत सुधार गर्ने बताएका छन् ।

यसैगरी कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले पुँजी बजार प्रदर्शनीबाट प्राथमिक तथा दोस्रो बजारसम्बन्धि विविध जानकारी, धितोपत्र ब्यवसायी सेवा, धितोपत्र बजार पूर्वाधार, बजार संचालन ब्यवस्था, बजार सुधार तथा विकास र आगामी प्राथमिकता सम्बन्धमा छलफल एवं लगानीकर्ता सचेतना अभिबृद्धि हुने बताएका छन् ।

उक्त प्रदर्शनीमा नेपाल धितोपत्र बोर्ड, बीमा समिति, नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ्ग, शाख मूल्यांकन संस्था, मर्चेण्ट बैंकर ब्यवसायीहरु, धितोपत्र दलाल ब्यावसायीहरु, आस्वा आवद्ध बैंक तथा वित्तिय संस्था, सुचिकृत कम्पनीहरु, धितोपत्र बजारसम्वन्धी सफ्टवयर कम्पनीहरु, आर्थिक संचार माध्यम लगायतको स्टलहरु रहेका छन् । उक्त प्रदर्शनी वैशाख २६ र २७ गते दुई दिनसम्म चल्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x