अर्थमन्त्रीले पेश गरेको बजेटका सिद्धान्त र प्राथमिकतामा के छ ? कस्तो बन्ला आगामी बजेट
काठमाडौं, २७ वैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटदेखि साना र खुद्रे आयोजनालाई बजेट विनियोजन नगरिने बताएका छन् । संसद्मा आगामी बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्दै अर्थमन्त्रीले मुलुक संघीय प्रणालीमा गइसकेको र साना आयोजनाहरु स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारको कार्यविभाजन अनुसार तल्लो तहमा पठाइससिकएकाले संघीय सरकारले साना आयोजनामा बजेट विनियोजन नगर्ने भएको हो । यससँगै निर्वाचन क्षेत्र विकास कार्यक्रम पनि संकटमा परेको छ । निर्वाचन क्षेत्रपिच्छे दश करोड रुपैँया बजेट दिएर सांसद् रिझाउने चलनलाई अर्थमन्त्री खतिवडाले अन्त्य गर्न लागेका हुन् । उनले बजेट विनियोजन गर्दा त्यसको प्रभावकारिता, कार्यसम्पादनको स्थिति, आयोजनाको प्रगति र त्यसको सामाजिक आर्थिक लाभ हेरेर मात्र बजेट विनियोजन गरिने बताएका हुन् । विनियोजन दक्षताको अभावमा बजेट खर्चमा लामो समयदेखि समस्या रहँदै आएको परिप्रेक्ष्यमा खतिवडाले विनियोजन दक्षतालाई सक्दो प्राथमिकता दिइने उल्लेख गरेका छन् ।
उनले आगामी बजेटमा स्थानीय प्रादेशिक तहबीच समन्वयका माध्यमबाट उपलब्ध साधनस्रोतबाट बढी लाभ हासिल गर्नुपर्ने बताए । संघीय बजेटमा भने ठूला र रणनीतिक आयोजनाका लागि मात्र बजेट विनियोजन गरिनेछ । खतिवडाले तीव्र आर्थिक वृद्धिका लागि ठूलो स्रोत परिचालनको आवश्यकता रहेको भन्दै बैंक वित्तिय संस्थाको लगानीलाई समेत उत्पादनमूलक क्षेत्रमा लगाउने बताउँदै आएका छन् । निजी तथा सार्वजनिक लगानी आकर्षित गर्न उर्जा, सडक, सिंचाई, दूरसञ्चार, पर्यटन क्षेत्रसँग सम्बन्धित भौतिक पूर्वाधारहरु निर्धारित समयभित्र कार्यान्वयन गर्ने बताएका छन् । गरिबी निवारण, शिक्षा तथा स्वास्थ्य सुविधाको पहुँच, पारदर्शिता अभिवृद्धि तथा सार्वजनिक खर्चमा अनुशासनलाई अर्थमन्त्रीले प्राथमिकतामा राखेका छन् । यसबाहेक वैदेशिक लगानीलाई पनि राष्ट्रिय अर्थतन्त्रमा बढी मूल्य शृंखला सृजना गर्ने क्षेत्रहरुमा प्रोत्साहीत गर्ने, रोजगारी सिर्जना, उत्पादकत्व वृद्धि, बढ्दो आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनलाई जोड दिइने अर्थमन्त्रीले उल्लेख गरेका छन् । हरेक क्षेत्रमा लगानी वृद्धि अपरिहार्य शर्त भएको उल्लेख गर्दै अर्थमन्त्रीले श्वेतपत्रले दिशानिर्देश गरे अनुसार संरचनागत समस्याहरु समाधानका लागि नीतिगत पहल गरिने बताएका छन् ।
सरकारले आगामी जेठ १५ मा बजेट प्रस्तुत गर्न लागेको छ । आगामी बजेट १,५०० अर्ब रुपैँयाको हुने बताइएको छ ।