लुम्बिनी प्रदेशको बजेट आकार ३७ अर्बको हाराहारीमा : उपाध्यक्ष क्षेत्री

काठमाडौं, २३ जेठ । लुम्बिनीमा प्रदेशमा यो वर्ष ३७ अर्बभन्दा माथिको बजेट नबन्ने लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले बताएका छन् । सोमबार बुटवलमा रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कारमा बोल्दै क्षेत्रीले ३५ अर्ब रकम प्रदेशमै भएको र त्यसलाई केही बढाएर लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७९/८० को लागि बजेट ३७ अर्बसम्मको बनाइने बताए ।


ठूलो आकारको बजेटभन्दा खर्च हुने आकारको सानो बजेट आउने बताउँदै उनले कृषि, स्वास्थ्य र शिक्षालाई केन्द्रमा राखेर बजेट बन्ने र कृषिमा ९० प्रतिशत अनुदान कटौती नगरी कृषकहरूलाई सहुलियत ऋणको व्यवस्था गरिने बताए । लुम्बिनी प्रदेशको बजेट नआउँदै योजना आयोगका उपाध्यक्ष क्षेत्रीले कृषि उत्पादन बढाउनका लागि कृषकहरूलाई कृषि विकास बैंक र सहकारीहरूबाट सहुलियत ब्याजमा ऋणको व्यवस्था गरिने उनको भनाइ छ ।


स्वच्छ खानेपानी सय प्रतिशत पुर्याउने गरी बजेट बन्ने बताउँदै उनले भने– “गरिबी निवारण घटाउने गरी बजेट बन्छ । प्रदेशको १६ प्रतिशत गरिबीलाई १० प्रतिशतमा झार्ने लक्ष्यका साथ बजेट बन्ने छ ।” बजेटको प्रणालीमा थोरै परिवर्तन गरिएको बताउँदै क्षेत्रीले अब विकास निर्माणका बजेट पार्नका लागि पाँचवटा मापदण्ड पूरा गरेर मात्र बजेट माग गर्न सकिने बताए ।


नयाँ प्रणाली शुरु गरिएकाले अब निवेदनको आधारमा मात्र सांसद, नेताहरूको भनाइको भरमा बजेट नपाइने बताए । उनले मापदण्ड पूरा नगरी बजेट माग गरिए नयाँ प्रणालीको सफ्टवेयरले नमान्ने बताए । १० वर्षे गुरुयोजनाका साथ बजेट तयार गरिएको समेत उनले जानकारी दिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *