Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सुदूरपश्चिमको विकासमा ध्यान दिन प्रधानमन्त्री देउवाको ध्यानाकार्षण

सुदूरपश्चिमको विकासमा ध्यान दिन प्रधानमन्त्री देउवाको ध्यानाकार्षण

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिम प्रदेशको विकासका लागि सरोकारवालाहरुले प्रधानमन्त्री देउवालाई दबाव बढाएका छन् ।


सुदूरपश्चिम सरोकार मञ्चले आईतबार काठमाडौँमा आयोजना गरेको ११औँ साधारणसभाका वक्ताहरुले सुदूरपश्चिम प्रदेशको विकासलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री देउवालाई झक्झकाएका हुन् । कार्यक्रममा प्रधानमन्त्री देउवालाई मञ्चका तर्फबाट अध्यक्ष विष्णुप्रसाद खत्रीले सुदूरपश्चिम प्रदेशको विकास तथा समृद्धिका लागि सुझावसहितको ज्ञापनपत्र बुझाएका थिए । सुदूरपश्चिम प्रदेशका विगत १६ वर्षदेखि सुप क्षेत्रको विकासका लागि विभिन्न प्रयास गर्दै आइरहेको छ । मञ्चले सुदूरपश्चिम प्रदेशको सर्वाङ्गीण विकासका लागि निःस्वार्थ भावले मातृभूमिप्रति आफ्नो कर्तव्य बहन गर्दै समग्र प्रदेशको विकासका लागि आवश्यक मार्गचित्र पुस्तक प्रकाशन गरेको छ । कार्यक्रममा प्रधानमन्त्री देउवाले तीनै तहका सरकारको सहकार्यमा पछि परेका प्रदेशहरूको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिबद्ध रहेको बताए । उनले मञ्चका हरेक प्रयास तथा सुझावहरू सङ्घीय सरकार र प्रदेश सरकारलाई विकास योजना तर्जुमा, कार्यान्वयन र मूल्याङ्कनमा सहयोगी बन्ने विश्वास गरे ।


प्रधानमन्त्री देउवाले आफूले डोटीको उच्चकोट विद्यालयबाट एसएलसी पास गरेपछि उच्च शिक्षा अध्ययनका लागि धनगढीसम्म पैदल यात्रा गरी सीमानाका पारि भारतको रेल चढेर रक्सौल हुँदै गाडी चढेर काठमाडौँ पुगेको स्मरण गर्र्दै भने , “पहिलेको तुलनामा सुपमा धेरै विकास भएको छ । सुप केन्द्रीय राजधानीसँग यातायातले जोडिएको छ । तर पनि धेरै सम्भावनाका बाबजुद अपेक्षाकृत विकास हुन सकेको छैन । पश्चिम सेती बनेमा यो प्रदेश विकसित र धनी बन्न सक्छ ।”


यस क्षेत्रको गरिबी र असमानता हटाउन सरकारका प्रयाससँगै सबैको योगदान आवश्यक रहेको उल्लेख गर्दै उनले सुपको विकासका लागि कोसेढुङ्गा साबित हुने कञ्चनपुर सीमामा सुक्खा बन्दरगाह बनाउन भारतसँग सहमति भएको जानकारी दिए । सुदूरपश्चिम प्रदेश मानव विकासको सूचाकाङ्कमा अगाडि आउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले यसका लागि सबैले आ–आफ्नो ठाउँबाट समन्वय र सहकार्य गर्न जरुरी रहेको बताए । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सुदूरपश्चिमको सर्वाङ्गीण विकास गरी यस क्षेत्रलाई सुन्दर बनाउन सबैले आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने आवश्यकता रहेको बताए । कञ्चनपुरको सिमानामा बन्ने सुक्खा बन्दरगाहको महत्वका बारेमा जानकारी गराउँदै यसले व्यापारमा सुविधा बढाउने र लागत घटाउने बताए ।


कार्यक्रममा पूर्वउपप्रधानमन्त्री भीम रावलले अहिलेको बजेटमा धार्मिक र पुरातात्विक महत्वका गन्तव्यलाई पर्यटनसँग जोड्ने राम्रा कार्यक्रम भए पनि सुदूरपश्चिम प्रदेशका त्यस्ता क्षेत्रलाई उचित मात्रामा उल्लेख नगरिनु दुःखद भएको बताए । उनले त्यस्ता कार्यक्रममा विशेषगरी खप्तड क्षेत्र छुटेको उल्लेख गर्दै बजेटमा समेट्न सरकारसँग आग्रह गरे ।


पछाडि परेका सुदूरपश्चिम र कर्णाली प्रदेशको विकास र समृद्धिका लागि पश्चिम सेती र माथिल्लो कर्णाली जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउनुपर्ने बताउँदै विकास निर्माणका हरेक कार्य पूर्वबाट प्रारम्भ हुने गरेकामा आगामी दिनमा सुदूरपश्चिमबाट प्रारम्भ गर्नुपर्ने उनको भनाई थियो ।


कार्यक्रममा पूर्वमन्त्री गणेश ठगुन्ना, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल, मञ्चका संस्थापक अध्यक्ष एवं नेपाल प्रहरीका पूर्व आइजिपी मोतिलाल बोहरा, मञ्चका अध्यक्ष विष्णुप्रसाद खत्रीलगायतले सुदूरपश्चिमको अवस्थाबारे चित्रण गर्दै विकासका लागि आफ्ना सुझाव दिनुभएको थियो । कार्यक्रममा प्रधानमन्त्री देउवाले मञ्चका सल्लाहकार शिवराज श्रेष्ठ मल्ललाई अभिनन्दनपत्रले सम्मान गर्नुभएको थियो ।
मञ्चमा नयाँ नेतृत्व चयन सुदूरपश्चिम सरोकार मञ्चको आज सम्पन्न ११औँ साधारणसभाले उपाध्यक्ष बहादुरसिंह विष्टको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको साधारणसभा उद्घाटनपछि भएको निर्वाचन प्रक्रियाबाट अध्यक्षमा विष्ट, उपाध्यक्षद्वयमा भाष्कर लाला र राजराजेश्वरी सिंह, महासचिवमा लक्ष्मी शाह, सचिवमा पूर्णबहादुर चन्द, कोषाध्यक्षमा गोदावरी सिंह शाही एवं सदस्यहरूमा नरबहादुर विष्ट, मोहनसिंह ऐतवाल, शम्शेर ठकुराठी, भीष्मराज ओझा, देवबहादुर बोहरा, अर्जुनबहादुर सिंह, लक्ष्मीप्रसाद उपाध्याय र विजयबहादुर शाह निर्वाचित भए ।


सुदूरपश्चिमबाट काठमाडौँ आई अस्थायी र स्थायी रूपमा बसोबास गर्दै आएका र आफ्नो थातथलोलाई माया गर्ने नेपाल सरकार तथा अन्य विभिन्न निकायमा एवं पेसामा संलग्न भई अनुभव हासिल गरेका उच्च पदस्थ एवं विज्ञ व्यक्तित्वलाई समावेश गरी विसं २०६३ जेठ २८ गते मञ्चको गठन भएको हो । मञ्चले स्थापनाकालदेखि नै सुदूरपश्चिमको सर्वाङ्गीण विकासका लागि विभिन्न क्षेत्रबाट सल्लाह सुझाव सङ्कलन गरी विभिन्न स्वरूपमा सुदूरपश्चिमको विकासका लागि योगदान दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x