Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

काठमाडौं महानगरपालिकाले बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर लग्दै

काठमाडौं महानगरपालिकाले बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर लग्दै

काठमाडौं, २४ जेठ । बन्चरेडाँडामा फोहोर फाल्न गएका गाडी रोकिएपछि अन्ततः काठमाडौं महानगरपालिकाले बल प्रयोग गर्ने निर्णय गरेको छ । फोहोर फाल्ने सहमति भएपछि मंगलबार फोहोर बोकेर बन्चरेडाँडा गइरहेका सवारी साधनलाई स्थानीय वासिन्दाले ठाउँ-ठाउँमा रोकेका छन् ।
प्रहरीले बल प्रयोग गर्दै बाटो खुलाइरहेको छ । महानगरपालिकाका एक अधिकारीका अनुसार प्रहरीले केही स्थानीयलाई नियन्त्रणमा लिइसकेको छ ।
‘दिउँसोसम्म प्रहरीले अवरोध हटाउँछ, र फोहोर सोमबारको सहमति अनुसार बिसर्जन हुन्छ,’ ती अधिकारीले भने,’अब प्रहरी लगाएरै भएपनि फोहोर उठाउँछौं ।’
यसअघि मेयर बालेन साहले फोहोर बिसर्जनमा बल प्रयोग नगर्ने बताएका थिए । तर, स्थानीय जनप्रतिनिधिसँग भएको सहमति केही स्थानीयबासीले नमान्ने बताएपछि मेयर साहले प्रहरी परिचालनमा सहमति जनाएको ती अधिकारीले बताए । सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीच भएको सहमति नमान्ने भन्दै स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका हुन् । शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो ।

गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको फोहोर उठ्न सकेको छैन । फोहोर सडकमै थुप्रिएकाले दुर्गन्ध बढेको छ ।
शहरी विकास मन्त्रालयको पहलमा बसेको बैठकमा भएको सहमतिमा शहरी विकास मन्त्रालयका आयोजना निर्देशक रवीन्द्र बोहरा, काठमाडौं महागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, धुनिबेसी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल र ककनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी शर्माले हस्ताक्षर गरेका थिए ।


उनीहरुले शहरी विकास मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरका मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोल, शहरी विकास मन्त्रालयका सचिव रमेश प्रसाद सिंह, धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, उपाध्यक्ष मिठुमाया तामाङ, काठमाडौंका प्रहरी बरिष्ठ उपरीक्षक सुदिप गिरी, ककनी गाउँपालिका वडा नं। ३ का अध्यक्ष घननाथ बजगाईंको रोहबरमा सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x