१० महिनामा १ खर्ब १५ अर्ब सहुलियतपूर्ण पुनरकर्जा लगानीमा
काठमाडौं, ५ असार । नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण पुनरकर्जा १ खर्ब १४ अर्ब ९६ करोड लगानीमा रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।
केन्द्रीय बैंकका अनुसार बैशाख मसान्तसम्ममा १ लाख ४६ हजार ३८२ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएकोकमा २ खर्ब १६ अर्ब ३३ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६० हजार १ सय ६३ ऋणीलाई प्रवाह भएको १ खर्ब ३९ अर्ब ५५ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८३ हजार ३ सय ७९ महिला उद्यमीलाई प्रवाह भएको ७३ अर्ब ९ करोड कर्जा रहेको छ ।
सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८ सय ४० ऋणीको ३ अर्ब ६९ करोड कर्जा बक्यौता रहेको छ ।
‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७९ वैशाख मसान्तसम्ममा १ अर्ब १३ करोड स्वीकृत भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।