Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अबको बाटो आयातबाट उत्पादनतिर

अबको बाटो आयातबाट उत्पादनतिर

– राजेन्द्र मल्ल
नेपालमा निजी क्षेत्रले लगानी, उत्पादन, वितरण र रोजगारीमा ठूलो योगदान दिइरहेको छ । नेपालको अर्थतन्त्रको सुदृढीकरणका लागि निजी क्षेत्रले विषम परिस्थितिमा समेत ठूलो भूमिका निर्वाह गर्दै आएको छ ।

राज्यबाट त्यति धेरै सहयोग नभए पनि निजी क्षेत्र आफ्नै बलबुताले अगाडि बढिरहेको छ । निजी क्षेत्रले उत्पादनमूलक उद्योग, व्यापार, बैंक तथा वित्तीय संस्था, शिक्षा, स्वास्थ्य, आइटी, कृषि, यातायात, पर्यटन, होटल तथा रेष्टुराँ लगायतका क्षेत्रमा ठूलो लगानी रहेको छ । त्यसैले भन्न सकिन्छ, नेपालमा लगानीको ठूला हिस्सा निजी क्षेत्रले गरिहेको छ ।

निजी क्षेत्रले उत्पादनमूलक क्षेत्रमा लगानी गरिरहेको छ । स्वदेशमा उत्पादित वस्तुको लागत वृद्धिले निजी क्षेत्रले विदेशी उत्पादन प्रतिस्पर्धा कम्पनीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ । नेपाली उद्योगी व्यवसायीहरू उत्पादनशील भन्दा पनि आयातित वस्तुले बजारमा कब्जा जमाउँदा उद्यमशीलतामा विकास कमजोर हुँदै गएको यथार्थ हो ।

अर्काेतर्फ, नेपालमा काम गर्नेभन्दा पनि विदेशमा रोजगारीमा जाने संस्कृतिको विकासले समेत निजी क्षेत्रले पछिल्लो समय दक्ष र अर्धदक्ष जनशक्तिको अभाव खेप्दै आएको छ । निराकरणका लागि सरकारले निजी क्षेत्रलाई उत्पादन विकासमा नवप्रवर्तन उद्योगीहरूलाई सहजीकरण र प्रोत्साहन गर्नु अति आवश्यक नै भइसकेको छ । नेपालमा लगानीको अथाह सम्भावना भए पनि लगानीमैत्री वातावरणमा अझै पनि सुनिश्चितताको कमी नै देखिन्छ ।

निजी क्षेत्रलाई सबल, सक्षम र सुदृढ बनाउनका लागि निजी क्षेत्र र सरकार सँगसँगै जानुपर्ने आवश्यकता छ, तर त्यो भइरहेको छैन । निजी क्षेत्रलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्नका लागि लघु, साना, मझौता र ठूला उत्पादनशील उद्योगमा काम गरिरहेका व्यवसायीहरूलाई प्रोत्साहन गर्नुपर्ने हुन्छ । लगानी गर्नका लागि उद्योगी व्यवसायीहरू तयार पनि छन् । उत्पादन विकासमा नवप्रर्वतनका लागि निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउनैपर्ने हुन्छ । विदेशीभन्दा स्वदेशी उत्पादनलाई जोड दिने र आयातलाई व्यवस्थापन गर्दै निर्यात प्रवद्र्धनमा गर्ने नीति निजी क्षेत्रका लागि अपरिहार्य बनेको छ । आर्थिक समृद्धिको संवाहकको रूपमा रहेको निजी क्षेत्रका नवप्रवेशी लगानीकर्तालाई उत्पादनमा प्रोत्साहन र सहजीकरण गर्नुपर्ने देखिन्छ । आर्थिक विकासको लागि निजी क्षेत्रको थप लगानीको आवश्यकता छ ।

उत्पादनमूलक क्षेत्रमा लगानीको वातावरण नहुँदा आयात गरेर व्यापार गर्नुपर्ने बाध्यता छ । सरकारको समेत स्थिर नीति नहुँदा विदेशी तथा स्वदशी लगानीकर्ता पर्याप्त लगानी गर्न हिच्किचाइरहेको र खुलेर कुनै पनि क्षेत्रमा लगानी गर्न डराइरहेको अवस्था पनि छ । नेपालमा उत्पादनमूलक उद्योगमा आकर्षण बढाई लगानीको वातावरण बनाउन प्रमुख जिम्मेवारी सरकारको हुन्छ ।

निजी क्षेत्रको विकासको लागि उत्पादनमूलक उद्योगमा लगानी गर्न लगानी वृद्धिको कार्यक्रमलाई अभियानको रूपमै अघि बढाउनुपर्छ । नेपालको निजी क्षेत्र विगतदेखि वर्तमानसम्म नै विभिन्न आरोह–अवरोह पार गर्दै आएको भए पनि पछिल्लो समय लगानीको वातावरण बनाउने प्रयत्नमा सरोकारवाला सबै पक्षले सहयोग गर्दै आइरहेका छन् ।

कोरोना महामारीले जसरी लगानीकर्ता पलायन नै हुनुपर्ने अवस्था सृजना गरेको थियो । अझै पनि त्यो संकट टरेको छैन । विश्वभरि नै बढिरहेको आर्थिक मन्दीले पनि निजी क्षेत्र अत्तालिएको अवस्था छ । अर्काेतर्फ नेपालको अर्थतन्त्रमा देखिएको उतारचढावले समेत निजी क्षेत्रको मनोबल कमजोर बनाउने काम गरेको छ ।

अर्थतन्त्रको स्थायित्व कायम राख्न अहिले ठूलो चुनौती सिर्जना भएको छ । खासगरी विदेशी मुद्रा सञ्चिति घट्दै गएका कारण अर्थतन्त्रमा दबाब उत्पन्न भएको छ । अहिले विश्वका धेरै मुलुकको अर्थतन्त्रमा दबाबको स्थिति सिर्जना भएको छ । तर कोरोनाले शिथिल बनेको अर्थतन्त्र क्रमशः जुर्मराउँदै छ ।

कोभिड–१९ महामारीको समयमा २ वर्ष संकटलाई झेलेको निजी क्षेत्र त्यसबाट पाठ सिक्दै पुनः तंग्रिने प्रयासमा छ, तर सरकारको सहयोग भने न्यून नै छ । सरकारले बुझ्नैपर्ने के हो भने नवप्रवर्तन र उत्पादन विकासमा जोड दिने समय यही नै हो । अर्थतन्त्रलाई उत्पादमुखी बनाउनका लागि सरकारले पहल गर्नुपर्छ । यसो गरेको खण्डमा देशको अर्थतन्त्रका साथै निजी क्षेत्र समेत उत्साहित हुनेछ ।
तीव्र आर्थिक वृद्धि र समृद्धिका लागि लगानीको महत्व बढ्दै गएको छ । आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने हो भने आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्नुपर्छ । अबको राष्ट्रिय आवश्यकताको एकमात्र अश्त्रको रूपमा उत्पादन विकास गर्न उपलब्ध स्रोत र साधनको उच्चतम प्रयोग गर्नुपर्छ । जुन अर्थतन्त्रमा सशक्त उत्पादनको आधार, रोजगारी र निर्यातको अवस्था बलियो हुन्छ, तिनमा कम समस्या देखिने गरेको छ ।

उत्पादनमा जोड दिनका लागि नीतिगत, कानुनी र प्रक्रियालाई समेत छिटो छरितो नबनाउने हो भने उत्पादनशील क्षेत्रमा लगानी बढ्ने छैन । त्यसको असर सोझै अर्थतन्त्रमा पर्ने देखिन्छ । अर्थतन्त्रको विकासको लागि स्थानीय स्रोत र साधनको उच्चतम प्रयोग गर्दै दीर्घकालीन कार्ययोजनाको मार्गचित्र तयार गरी निजी क्षेत्र र सरकार सँगै अघि बढ्नुपर्छ ।

विशेषगरी उत्पादनशील अर्थतन्त्रको चर्चा गर्दा हामीले औद्योगिक र म्यानुफ्याक्चरिङ क्षेत्रमा लगानी बढाउनुपर्नेछ । यसरी लगानी बढाउँदा हाम्रो तुलनात्मक र प्रतिस्पर्धी लाभका उद्योगमा ध्यान दिनुपर्छ । हामीकहाँ अध्ययन नगरी लगानी गर्ने प्रवृत्ति छ । हामीकहाँ कुनै क्षेत्रमा कसैले राम्रो ग¥यो भने सबै त्यही क्षेत्रमा मात्र लगानी गर्ने चलन छ, यो लगत हो । बजारको सम्भावना हेरेर, राम्रोसँग अध्ययन गरेर लगानी गर्नुपर्छ ।

लगानीको हिसाबले हामी सिमेन्टमा आत्मनिर्भर बनेका छौं । अहिले पनि सिमेन्ट उद्योगमा लगानी आइरहेको छ । अब आवश्यकताभन्दा पनि बढी उत्पादन गर्ने उद्योगहरू छन् भने बजारको खोजी गर्नुपर्छ । निर्यात बढाउन सक्नुपर्छ । हामीले अब कस्ता उद्योग, म्यानुफ्याक्चरिङ र कृषिमा हाम्रो प्रतिस्पर्धी क्षमता, बजार र लाभ हेरेर लगानी गर्नुपर्छ ।

पक्कै पनि हामी उद्यमशील नहुने हो भने कुल गार्हस्थ्य उत्पादनमा दोहोरो अंकको वृद्धि र सशक्त उत्पादनको आधारमार्फत दिगो रोजगारीका साथै समावेशी अर्थतन्त्र निर्माण गर्न सक्दैनौं । हामीले नवीनतम सोच भएका उद्यमीहरूलाई विभिन्न क्षेत्रमा लगानी गर्नका लागि प्रोत्साहित गर्ने कार्यक्रम नै ल्याउनुपर्छ । यसका लागि लगानीको वातावरणमा सुधार गरी उद्यमका लागि सहज वतावरण निर्माण गर्नुपर्छ ।
अहिले सूचना प्रविधि क्षेत्र (आईटी)मा काम गर्न सकिन्छ । ‘आइटी पार्क’ नै बनाएर पूर्वाधार खडा गरेर युवा जनशक्तिलाई उपयोग गर्न सकिन्छ । आइटी क्षेत्रले विश्वमै रूपान्तरण ल्याएको सन्दर्भमा नेपालले पनि आइटी क्षेत्रको विकासबाट लाभ लिन सक्छ ।

आईटी क्षेत्रमा नेपाली युवाहरूले अहिले पनि राम्रो काम गरेका छन् । कतिपय विकसित मुलुकका लागि आउटसोर्सिङमा काम गर्छन् । त्यस्तै, विभिन्न बहुराष्ट्रिय कम्पनीमा समेत नेपाली युवाहरूले काम गरिरहेका छन् । सरकारले उनीहरूलाई नेपाल फर्र्काएर काम गर्ने वातावरण निर्माण गरिदिए ठूलो सफलता हात पार्न सकिन्छ । आइटी क्षेत्रलाई व्यवस्थित गरेर नेपाललाई विश्व समुदाय समक्ष ‘आइटी हब’को रूपमा चिनाउनुपर्छ ।

यसका अतिरिक्त नेपालमा बहुराष्ट्रिय कम्पनीलाई प्रवेश गराएर वा विदेशमा ब्राण्डेड वस्तुहरूको फ्रेन्चाइजलाई नेपालमा ल्याउन सकिन्छ । हामी कहाँ चौबीसै घन्टा गुणस्तरीय विद्युत् आपूर्ति हुन्छ । यहाँ उत्पादन गरेर तयारी सामान निर्यात गर्न सकिन्छ । विदेशी बहुराष्ट्रिय कम्पनीका लागि प्याकेजिङ उद्योग वा अन्य एन्सिलरी उद्योगहरू पनि नेपालमा खोल्न सकिन्छ ।
त्यस्तै, नेपालबाट जडिबुटी, रत्न÷पत्थर, कच्चा पदार्थको रूपमा मात्र निर्यात भइहरको छ । त्यसलाई पनि प्रशोधन गरेर निर्यात गर्न सके राम्रो आम्दानी गर्न सकिन्छ ।

हामी जलस्रोतको भण्डार नै भएको मुलुक हौं । जलविद्युत् र जलस्रोतको बहुआयामिक उपयोगका लागि बहुउद्देश्यीय परियोजनाहरूमा पनि नेपाली युवाहरूले पठाएको रेमिट्यान्सको केही रकम मात्र लगानी गर्ने वातावरण बनाउने हो भने यसले वैदेशिक रोजगारीमा गएका हाम्रा युवालाई दीर्घकालीन लाभ प्राप्त हुनेछ । सधैं विदेशी भूमिमा दुःख गर्नुपर्ने बाध्यता अन्त्य भई स्वदेशमै पुँजी, सीप र प्रविधिको उपयोग गरी थप उद्यम सिर्जना गर्ने वातावरण निर्माण गर्न सकिन्छ । पूर्वाधार विकास तथा जलस्रोत विकासका लागि वैदेशिक रोजगारीमा गएकाहरूका लागि निश्चित प्रतिशत सेयर जारी गर्नुपर्ने बाध्यकारी व्यवस्था, वैदेशिक रोजगार बचतपत्र, वैदेशिक रोजगार कोषमा बचत गरी उक्त ‘फन्ड’मार्फत उत्पादनशील क्षेत्रमा लगानी गरी लाभ प्रदान गर्ने अनेकौं उपायहरू छन् । यसरी लगानी गर्ने हो भने मुलुक पनि रूपान्तरण हुन्छ । वैदेशिक रोजगारमा जानेहरूको भविष्य पनि सुरक्षित हुन्छ ।

विदेशमा युवाहरूले सिकेको सीपलाई प्रयोग गर्दै साना, मझौला, ठूला उद्योगहरू समेत स्थापना गर्न दिने नीति लिनुपर्छ । ताकि स्वदेशमै रोजगारी दिने, निर्यात प्रवद्र्धन गर्ने, देशलाई आत्मनिर्भर बनाउने बाटोमा अघि बढ्न सकियोस् । यसमा नवउद्यमी, नवप्रवर्तनको क्षेत्रमा काम गर्नेलाई प्राथमिकता दिनुपर्छ ।

नेपालले विदेशी लगानीलाई स्वागत गर्न अन्तर्राष्ट्रिय स्तरमा रोड शोहरू, लगानी सम्मेलन तथा परियोजना प्रदर्शनी गर्न सक्छ । उद्योग स्थापनाका लागि जग्गा अधिग्रहणदेखि करार कार्यान्वयनसम्म सुधार गर्नुपर्छ ।

जुनसुकै लगानीकर्ताका लागि सरकार एउटा निकाय हुने भएकाले धेरै निकायहरूमा डुलाएर झञ्झट दिनुहुँदैन, वास्तवमै लगानीकर्ताका लागि कसरी ‘सिंगल विन्डो’ अर्थात् एकद्वार नीति कार्यान्वयन गर्ने भन्नेमा सरकार प्रतिबद्ध हुनुपर्छ । उद्योग स्थापना गर्नेलाई जमिन किन्न नपर्ने, बाँझो जमिन लिजमा दिने व्यवस्था भयो भने युवाहरू विदेशमा जानु भन्दा यही काम सुरु गर्छन् ।

राजनीतिक अस्थिरता र प्रशासनिक जटिलताको अन्त्य गर्दै सबै राजनीतिक दलबीच अर्थतन्त्र र विकासका मुद्दामा साझा धारणा, साझा दृष्टिको र साझा प्रतिबद्धता चाहिन्छ, जसले लगानीकर्तालाई लगानीको सुरक्षा हुनेमा विश्वस्त बनाउँछ । व्यक्तिगत रूपमा म त नेपालमा जताजतै लगानीको अवसर नै अवसर देख्छु । अझ उत्पादनशील उद्योगहरूको भविष्य निकै उज्ज्वल छ । सरकारले विदेशमा बसेका युवालाई समेत विदेशमा सिकेको सीप, आर्जन गरेको पुँजी नेपालमा बसेर कुन–कुन क्षेत्र लगानी गर्नुहुन्छ, आउनुहोस् भनेर स्वागत गरेर सहजीकरण गर्नुपर्छ ।
(मल्ल नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष हुन्)

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x