हेलिकप्टर बिसौनी भक्तपुरको नलिनचोकमा सारिंदै
काठमाडौं, २२ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टरको बिसौनी अब भक्तपुरको नलिनचोकमा सारिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाकाअनुसार हेलिप्याडका लागि आवश्यक संरचना निर्माण गर्न शुक्रबार ठेक्का सम्झौता भएको छ । भक्तपुरको नलिनचोकमा रहेको ३३ रोपनी क्षेत्रफलमा हेलिकप्टर बिसौनी बन्ने छ ।
सो प्रयोजनका लागि प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा २५ करोड रुपैयाँ विनियोजन गरेको छ । यसमध्ये टर्मिनल भवन र टावर निर्माणमा १० करोड रुपैयाँ विनियोजन गरिएको छ । हेलिप्याण्ड निर्माणका लागि भने १५ करोड रुपैयाँ विनियोजन भएको थियो ।
प्राधिकरणका अनुसार हेलिप्याड निर्माण यसै वर्ष सम्पन्न हुनेछ । त्यसपछि अहिले त्रिभुवन विमानस्थलबाट भइरहेको हेलिकप्टरको उडान/अवतरण अब नलिनचोकमा सर्नेछ । यात्रुले समेत सोही स्थानमा पुगेर हेलिकप्टर चढ्न पाउनेछन् । टर्मिनल भवन र टावरको कामलाई भने बहुवर्षीय आयोजनामा राखिएको छ ।
अहिले त्रिभुवन विमानस्थलमा भइरहेको जहाजहरुको चाप घटाउन यो संरचना सहयोगी हुने प्राधिकरणको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रिमोट पार्किङ वे नजिकै हेलिकप्टरहरुको पार्किङ भइरहेको छ ।