टानको अध्यक्षमा बास्तोला विजयी, विभिन्न प्रत्रकार सम्मानित
काठमाडौं,३१ साउन । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्ष पदमा निलहरी बास्तोला विजयी भएका छन् ।
टानको यो चूनावमा नेकपा एमाले र नेपाली कांग्रेसबीच गठबन्धन भएको थियो । तर, एमालेमा भने विभाजन देखिएको थियो । एमाले निकट केही व्यवसायीले भने बास्तोलाका निकटमत प्रतिद्धन्ती रामप्रसाद सापकोटालाई समर्थन गरेका थिए । बास्तोलाले ६१६ मत ल्याउँदा सापकोटाले २६४ मत ल्याए । स्वतन्त्र उठेका बोधराज भण्डारीले ४४ मत पाएका छन् ।
वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदीप पण्डित, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा विजयी भएका छन् । सचिवमा होमनाथ भट्टराई, कोषाध्यक्षमा पुरुषोत्तम तिमल्सेना र सहकोषाध्यक्षमा छिङदोर्ची शेर्पा विजयी भएका छन् ।
महिला सदस्यमा सजना त्रिपाठी र खुला सदस्यमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नमिनाथ देवकोटा, सुवास भण्डारी र लाक्पा दोर्जी शेर्पा विजयी भएका छन् । यो कार्यसमितिको कार्यकाल आगामी दुई वर्षको हुनेछ ।
यस्तै सो अवसरमा पर्यटन पत्रकारितामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै टान पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका आर्थिक समाचार प्रमुख प्रदीपकुमार चापागाँई समानित भएका छन् ।
ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपालको ४४औँ वार्षिक साधारणसभाका अबसरमा उनलाई सो पुरस्कार प्रधान गरिएको हो ।
यसै गरी टान पत्रकारिता पुरस्कारबाट न्यूज एजेन्सी नेपालका प्रबन्ध निर्देशक सविन धमला, राष्ट्रिय समाचार समितिका समाचारदाता अच्युत रेग्मी, पत्रकार सुवास योञ्जन, टिपी भुसाल, शङ्कर पण्डित, राजु भट्ट र सरोज ओझालगायतलाई टान जर्नालिज्म अवार्डद्वारा पुरस्कृत गरिएको थियो ।
उनीहरुलाई नगदसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।
सोही अवसरमा टिम्स बिक्री गर्ने उत्कृष्ट १० कम्पनीलाई सम्मान गरिएको थियो । यस्तै, १७ वर्षको उमेरमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने स्वर्गीय शम्भु तामाङलाई नगद रु ५० हजारसहित सम्मान गरिएको थियो ।