२०११ अर्ब ५८ करोड पुग्यो सरकारको ऋण दायित्व
काठमाडौं, १ भदौ । गत आर्थिक वर्षसम्ममा सरकारले तिर्न बाँकी ऋण २०११ अर्ब ५८ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणले यस्तो देखाएको हो ।
गतवर्ष सरकारले रू. २३१ अर्ब ३० करोड आन्तरिक ऋण परिचालन गरेको छ भने रू. ४७ अर्ब ३३ करोड साँवा भुक्तानी गरेको छ । सो अवधिमा सरकारले रू. १८३ अर्ब ९७ करोड खुद आन्तरिक ऋण परिचालन गरेको छ । यो रकम कुल गार्हस्थ्य उत्पादनको ३.८ प्रतिशत हो । यस अवधिमा सरकारले रु।१२२ अर्ब २ करोड बाह्य ऋण परिचालन गरेको छ ।
केन्द्रीय बैंकका अनुसार २०७९ असार मसान्तमा नेपाल सरकारको कुल तिर्न बाँकी बाह्य ऋण रू. १०२७ अर्ब ३० करोड र आन्तरिक ऋण रू. ९८४ अर्ब २८ करोड गरी कुल तिर्न बाँकी सरकारी ऋण रू. २०११ अर्ब ५८ करोड पुगेको हो ।
गत आर्थिक वर्षमा कुल सरकारी ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४१.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ४०.६ प्रतिशत रहेको थियो ।