महालेखाद्वारा संगठित संस्थाका पदाधिकारी तथा लेखापरीक्षकसँगको अन्तररक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं, ५ भदौ । मुलुकका सार्वजनिक निकायहरूको लेखापरीक्षण गर्ने सर्वोच्च निकाय महालेखापरीक्षकको कार्यालयले संगठित संस्थाका पदाधिकारी तथा लेखापरीक्षकसँगको अन्तररक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आइतवार अनामनगरस्थित कार्यालयमा भएको उक्त कार्यक्रममा सार्वजनिक एवं संगठित संस्थाको लेखापरीक्षणका सम्बन्धमा देखिएका समस्या, चुनौती र समाधानका सम्बन्धमा सार्थक छलफल भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले पर्याप्त स्रोतसाधन भएर पनि सार्वजनिक निकायहरू घाटामा जानु र लेखापरीक्षण समेत हुन नसक्नु विडम्बना भएको औंल्याए ।
सार्वजनिक संस्थानको वित्तीय अनुशासन कायम नहुनु चिन्ताको विषय बनेको छ । यस्ता संस्थाको लेखापरीक्षण नहुनुलाई नियमकानूनकै उल्लंघन समेत मानिने मुख्य सचिव शंकर दास वैरागीले बताए । त्यसो त सार्वजनिक संस्थाको वित्तीय अवस्थाले राज्यकै अर्थतन्त्रको अवस्थालाई समेत दर्शाउँछ । अतः राज्यको वित्तीय स्वास्थ्य कमजोर हुन नदिन यस्ता संस्था सबल रूपमा अघि बढ्नुपर्नेमा गभर्नरन महाप्रसाद अधिकारीले जोड दिएका छन् ।
महालेखापरीक्षकको कार्यालयले वर्षेनि सार्वजनिक गर्ने सार्वजनिक निकायका लेखापरीक्षणको प्रतिवेदनले सन्तोषजनक अवस्था देखाउँदैन । उक्त अन्तरक्रिया कार्यक्रममा महालेखाको प्रतिवेदनले देखाएका विभिन्न विकृतिहरू औंल्याउँदै सुधारका लागि महालेखानियन्त्रक टंकमणि शर्मा दंगालले निर्देशन दिए ।
महालेखापरीक्षकको कार्यालयले आफ्नो वार्षिक कार्यक्रम अनुसार उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सार्वजनिक एवं संगठित संस्थाका उच्चपदस्थ प्रतिनिधिका साथै महालेखापरीक्षकले नियुक्त गरेको उक्त संस्थाका लेखापरीक्षकहरू लगायत २०० भन्दा बढीको सहभागिता थियो ।