यती एअरलाइन्सले थप्यो विमान

काठमाडौं, २१ भदौ । यती एअरलाइन्सले एटीआर ७२-५०० विमान थप गरेको छ । यतीको यो छैटौं विमान सोमबार दिउँसो १५ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
यतीले ७० सीट क्षमताको उक्त विमान अष्ट्रेलियाको एभासन कम्पनीसँग लिजमा ल्याएको हो । उक्त विमान क्याप्टेन ओलिभर ज्यासन ज्याफ्रीले अष्ट्रेलिया, सिंगापुर, थाइल्याण्ड हुँदै नेपालमा ल्याएको कम्पनीका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए।
एमएसएन नं ९८६ सिरिजको उक्त विमानको पहिलो उडान सन् २०११ मा भएको थियो । जम्मा १० हजार साइकलमात्र उडान गरेको उक्त विमान नेपालमा उडान गर्ने अन्य विमानभन्दा पछिल्लो विमान भएको कम्पनीले दाबी गरेको छ । एटीआर विमानको जम्मा साइकल ७० हजार हुन्छ । एक अवतरणलाई एक साइकल गणना गरिन्छ ।
विमान संख्या थप गरेसँगै कम्पनीले हाल उडान गर्ने गन्तव्यमा नै सेवा विस्तार गर्ने नीति लिएको प्रवक्ता बर्तौलाले जानकारी दिए । ‘विमानको आवश्यक कागजी प्रक्रिया पूरा गरी रंगरोगन गरेपश्चात विमानले दशैं अगाडि नै उडान गर्नेछ । यसले गर्दा दशैंको बेला हुने टिकट अभावलाई पूरा गर्न सहयोग हुने विश्वास लिएका छौं’, उनले भने, ‘यही आर्थिक वर्षभित्र अर्को एक विमान थप गर्ने र त्यसपछि नयाँ गन्तव्यहरुमा सेवा विस्तार गरिनेछ ।’
विमान थपिएपछि ५ वटा विमानलाई आधार बनाइ उडान गर्ने र एउटा विमानलाई जगेडामा राखी मर्मत तथा उडान ढिला हुँदा प्रयोग गरिने कम्पनीले जनाएको छ ।