भदौमा उद्योग क्षेत्रमा ७३ अर्ब ३७ करोडको लगानी प्रतिबद्धता
काठमाडौं, ४ असोज । मुलुकको उद्योग क्षेत्रमा गरिने लगानीमा ३८ दशमलव २८ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा ३८ दशमलव २८ प्रतिशत अथात् २० अर्ब ३१ करोड रुपैयाँले उद्योगमा गरिने लगानी प्रतिबद्धता बढेको छ ।
उद्योग विभागका अनुसार गत आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा ५३ अर्ब छ करोड ५४ लाख रुपैयाँ र चालू आर्थिक वर्षको सोही अवधिमा ७३ अर्ब ३७ करोड ९२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । गत आर्थिक वर्षमा ६० वटा उद्योग र पाँच हजार पाँच सय २७ जनालाई रोजगारी तथा चालू आर्थिक वर्षमा ६६ वटा उद्योग र चार हजार छ सय ६१ जनालाई रोजगारी दिने उद्देश्यका साथ उक्त लगानी प्रतिबद्धता आएको हो ।
कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलक गरी छ प्रकारका विभागमा दर्ता हुन्छन् । सोही क्रममा स्वदेशी र विदेशी लगानीकर्ताहरुले चालू आर्थिक भदौ मसान्तसम्मको अवधिमा सबैभन्दा बढी ऊर्जाजन्यमा ४८ अर्ब ७८ करोड एक लाख रुपैयाँ, उत्पादनजन्यमा छ अर्ब ४३ करोड ४१ लाख रुपैयाँ, सेवाजन्यमा सात अर्ब ३२ करोड ९१ लाख रुपैयाँ, पर्यटनजन्यमा १० अर्ब ५७ करोड ५७ लाख रुपैयाँ र सूचना सञ्चार तथा प्रसारण प्रविधिजन्यमा २६ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।
ऊर्जाजन्य १५ वटा, उत्पादनजन्य १९ वटा, सेवाजन्य १० वटा, पर्यटनजन्य १९ वटा र सूचना प्रविधिजन्य तीनवटा उद्योग स्थापना गर्नका लागि उक्त लगानी प्रस्ताव गरेका हुन् ।