संस्कृतसेवी माधव पौडेलको स्मृतिमा शोकसभा
काठमाडौं, ४ असोज । गुरुकुल शिक्षा प्रणाली, पूर्वीय दर्शन एवं वैदिक वाङ्मय र सनातन आर्य परम्पराका अनुयायी माधव पौडेलको स्मृतिमा शोकसभा सम्पन्न भएको छ । देवघाटधामस्थित महेश संस्कृत गुरुकुलका संस्थापक सचिव समेत रहेका स्व. पौडेलको श्रद्धाञ्जलि सभा महेश छात्रपरिषद्द्वारा सोमवार काठमाडौंको शंकराचार्य मठमा समायोजन गरिएको हो । सभामा गुरुकुलका शुभेच्छुक एवं भक्तजनले वाक्पुष्प श्रद्धासुमन समर्पण गरेका थिए ।
१९९४ सालमा ललितपुरको जाउलाखेलमा जन्मिएका पौडेलको गत भदौ २१ गते असामयिक देहावसान भएको थियो । नेपालको शैक्षिक धरोहर महेश संस्कृत गुरुकुलका संस्थापक सचिव समेत रहेका पौडेलको गुरुकुलको पुनर्जागरण अभियानमा विशेष योगदान रहेको छ । गुरुकुलको प्रमुख अभिभावकत्व वहन गरेका पौडेल गुरुकुल परिवार एवं सम्पूर्ण शुभचिन्तकहरूबीच ‘माधव बुबा’का रूपमा परिचित थिए ।
शोकसभामा मन्तव्य राख्दै महेश छात्र परिषद्का अध्यक्ष उमेशप्रसाद घिमिरेले गुरुकुलको स्थापना र विकासमा स्व. पौडेलले पु¥याएको योगदानलाई स्मरण गर्दै गुरुकुल रहेसम्म उनी अमर रहने विचार राखेका थिए । ‘हामीले एक कर्मठ पुरुषार्थी तथा कर्मयोगीलाई गुमाएका छौं, माधव बुबाप्रति यो जीवनमा मात्र होइन, कयौं जुनीसम्म पनि ऋणी बनेका छौं,’ घिमिरेले भने, ‘उहाँ भौतिकरूपमा आज हाम्रा सामु नभए पनि उहाँले जीवनमा महेश संस्कृत गुरुकुललाई बनाउन गर्नुभएको त्याग, तपस्या र समर्पणले गर्दा हजारौँ वर्षसम्म नेपाल तथा पौरस्त्य गुरुकुल परम्पराको इतिहासमा अनन्त कालसम्म अमर रहनुहुनेछ ।’
श्रद्धाञ्जलि सभामा महेश छात्रपरिषद्का सदस्य एवं नेपाली साहित्यका समसामयिक कवि नगाधिराज, कवि तथा गजलकार भीम खतिवडा, कवि शालिकराम ढकाल, स्थापित व्यंग्य लेखक चिरञ्जीवी ढकाल, कवि रमण स्वामी र कवि केएन स्वामी लगायतले स्व. पौडेलको योगदानलाई विषयवस्तु बनाई आफ्ना रचना सुनाएका थिए ।
सो सभामा महेश छात्र परिषद्का विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधिले माधव पौडेलको निष्काम कर्मयोगका बारेमा चर्चा गरेका थिए । महेश संस्कृत गुरुकुलका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरिजीले व्यक्तिप्रति मात्र नभई गुरुकुल उत्थानमार्फत चेतनाको विकास गर्ने अभियानमा समर्पित सच्चा कर्मयोगी तथा गृहस्थ सन्तका रूपमा स्व. पौडेलेको स्मरण गरे । यस्तै डा. स्वामी केशवानन्द गिरीले गुरुकुल अभियन्ता पौडेलप्रति श्रद्धाभाव प्रकट गरेका थिए ।
सभामा बोल्ने वक्ताहरूले माधव बुबाको निवृत्त जीवन सबै नै सेवानिवृत्त कर्मचारीहरूका लागि अनुकरणीय प्रकृतिको रहेको बताएका थिए ।
२०४८ सालमा सरकारी सेवाबाट निवृत्त भएका पौडेलले आफ्नै पैसाले देवघाटधाममा २०५० सालमा ३ रोपनी जग्गा खरिद गरी महेश सन्न्यास आश्रम एवं महेश संस्कृत गुरुकुलको समुन्नतिमा योगदान दिएका थिए ।
गुरुकुलका शिष्यगण, गुरुजन र भक्तजनको उल्लेख्य सहभागिता रहेको रहेको सभाको समापन महेश संस्कृत गुरुकुलका संरक्षक मधुसूदनानन्द गिरिले गरेका थिए ।