Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मनसुन न्यून चापीय क्षेत्रको असर: अझै तीन दिन पानी पर्ने

मनसुन न्यून चापीय क्षेत्रको असर: अझै तीन दिन पानी पर्ने

काठमाडौं, २२ असोज । मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा विगत पाँच दिनदेखि बदली र वर्षा भइरहेको छ ।

उक्त मौसमी प्रणालीका कारण अझै तीन दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार मनसुन न्यून चापीय क्षेत्रको असर कायमै रहेकाले केही दिन वर्षाको सम्भावना रहेको हो ।

आगामी मङ्गलबारदेखि मौसम क्रमिकरुपमा सुधार हुनेछ । उनले भनिन्, ‘अबको तीन दिनसम्म वर्षाको सम्भावना रहेको छ । पश्चिमी क्षेत्रमा बढी असर पर्ने देखिन्छ । एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।’

नेपालमा मनसुन अझै सक्रिय रहेकाले पनि वर्षा भइरहे पनि विगतका दिनभन्दा कम असर पर्ने मौसमविद् महर्जनले बताइन् । हाल नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको असर रहेको छ । प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी स्वदेशमा सामान्य बदली रहेको छ ।

प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ । दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चि प्रदेशमा थोरै र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने जनाइएको छ । महाशाखाका अनुसार गत २४ घण्टामा वीरेन्द्रनगरमा एक सय ६९ र नेपालगञ्जमा एक सय ६५ मिलिमिटर वर्षा मापन गरिएको छ ।

घोराहीमा एक सय चार, धनगढीमा ९०, दिपायलमा ६३ र डडेलधुरामा ४४ मिलिमिटर वर्षा भएको छ । काठमाडौँम नौ दशमलव पाँच मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

आज काठमाडौँको न्यूनतम तपक्रम १७ र अधिकतम तापक्रम २८ डिग्री सेल्सियस रहेको छ । रासस

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x