मुलुकभरका उद्योग प्रतिष्ठानमा करिब ५ लाख व्यक्ति रोजगार
काठमाडौं, २४ असोज । मुलुकभरमा सञ्चालनमा रहेका ६० हजारभन्दा बढी उद्योग प्रतिष्ठानमा करिब ५ लाख व्यक्ति रोजगार रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक विभागले गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षणअनुरुप मुलुकभर ६० हजार एक सय ८५ वटा उद्योग प्रतिष्ठानहरु सञ्चालनमा छन्, जसमा संलग्न रहेको व्यक्तिहरुको संख्या चार लाख ९१ हजार दुई सय २७ रहेको छ ।
तीमध्ये खानी तथा उत्खनन क्षेत्रमा छ हजार चार सय ८५ जना, औद्योगिक उत्पादन क्षेत्रमा चार लाख ४४ हजार नौ सय ६४ जना, विद्युत्, ग्यास बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा २१ हजार पाँच सय ९३ जना र पानीको आपूर्ति, ढलनिकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरुको क्षेत्रमा १८ हजार एक सय ८५ जना व्यक्तिहरु संलग्न छन् । उद्योग प्रतिष्ठानहरुमा संलग्न व्यक्तिहरुको संख्या भन्नाले प्रतिष्ठानमा सक्रिय रुपले कार्यरत व्यवसायी तथा साझेदारहरु, बेतलबी पारिवारिक कामदारहरु र तलबी कामदारहरु पर्ने सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै, उद्योग प्रतिष्ठान स्थापना तथा सञ्चालन भएसँगै त्यसले रोजगारी समेत सिर्जना गरेको छ । सर्वेक्षणअनुरुप औद्योगिक क्षेत्रका चारवटै प्रकारका औद्योगिक प्रतिष्ठानहरुमा रहेको रोजगार अर्थात् तलबी कामदारको संख्या तीन लाख ८१ हजार छ सय ८७ रहेको छ ।