कवि पुरुषोत्तम दाहालको कविताकृति ‘काला बादलमाथि उज्याला पाइला’ लोकार्पण

काठमाडौं, ७ कात्तिक । कवि पुरुषोत्तम दाहालको ‘काला बादलमाथि उज्याला पाइला’ कविता संग्रह लोकार्पण भएको छ । यही कात्तिक ३ गते काठमाडौंमा आयोजित एक समारोह बीचका बीच उक्त कविता कृति सार्वजनिक गरिएको हो ।
आयोजक संस्था रिलायन्स कलेजका प्राचार्य रवीन्द्रजंग थापाको अध्यक्षतामा आयोजित कृति लोकार्पण समारोहको उद्घाटन पूर्वमन्त्री एवं साहित्यकार नरहरि आचार्यले गरेका थिए । नेपाली साहित्य, प्राध्यापन, समाजसेवा, राजनीति र पत्रकारिता आदि विविध क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका विशिष्ट व्यक्तित्वको सहभागिता रहेको उक्त कार्यक्रम साहित्यिक समारोहमात्र नभएर बौद्धिक बहस एवं प्राज्ञिक जमघटको स्थल बनेको थियो ।
समारोहमा कृति मूल्यांकन गर्दै समीक्षक सुमन घिमिरे ‘पुष्पा’ले समग्र कविताको विषयवस्तु समसामयिक समाजबाट लिइएकाले वर्तमानका राजनीतिक विसंगति तथा सामाजिक बेथितिप्रति व्यंग्य प्रहार गरिएको रहेको बताइन् । ‘निराशाका काला बादल मडारिएको वर्तमान परिवेशमा उज्यालो आशाको अपेक्षा गरिएको छ । कवितामा कतै निराशा, कतै वितृष्णा, कतै आशा र कतै मायालाई कलात्मक ढङ्गले उपस्थापन गरिएको छ । विशेषगरी नेपाली राजनीति क्षेत्रमा देखा परेका नातावाद, कृपावाद, दुराचार र भ्रष्टाचारप्रति तीव्र असन्तुष्टिका साथै सामाजिक, राजनीतिक, सांस्कृतिक रूपान्तरणको कामना कवितासङ्ग्रहमा प्रकट गरिएको छ,’ उनले भनिन् ।
त्यसैगरी अर्का कृति समीक्षक डा. देवी नेपालले उक्त संग्रहका कवितालाई हृदयका कविता र मष्तिष्कका कविता गरेर दुई वर्गमा विभाजन गर्न सकिने विचार अघि सारेका थिए । दुवै थरी कविताका सर्जक पुरुषोत्तम दाहाल साहित्यमा राजनीतिलाई कलात्मक ढङ्गले घुसाउन सफल भएको धारणा उनले राखेका थिए ।
समारोहमा समीक्षक डा. नारायण चालिसेले पुरुषोत्तम दाहालको समाजवादी चरित्रको चर्चा गर्दै उनको जीवनगत व्यक्तित्वको प्रशंसा गरेका थिए । नेपाली साहित्यका स्थापित कवि कलानिधि दाहालले राजनीतिक चक्रव्यूहमा चुर्लुम्मै डुबेका पुरुषोत्तम दाहाल राजनीतिबाट साहित्यमा फर्किनु नै सबैभन्दा ठूलो विजय हो भन्दै कवि दाहाल अबदेखि नित्यनिरन्तर काव्यसाधनामा लागिरहन सकून् भन्ने शुभकामना प्रदान गरेका थिए ।
त्यसैगरी प्रा.डा. कुमार कोइरालाले बहुमुखी प्रतिभा दाहालका यसभन्दा पनि गहन काव्यकृतिहरू पढ्न पाइने अपेक्षा गरेका थिए । स्थापित लेखक डा. शोभाकर पराजुलीले पुरुषोत्तम दाहालजस्तो आदर्श व्यक्ति कालो बादल छिचोल्नबाट पन्छिन नहुने, सुधारमै लाग्नुपर्ने, निराशालाई चिर्दै अघि बढ्नुपर्ने भन्दै साहित्यिक सफलता र राजनीतिक क्रियाशीलताका लागि शुभकामना दिएका थिए ।
पूर्वमन्त्री तथा साहित्यकार नरहरि आचार्यले बहुमुखी प्रतिभा पुरुषोत्तम दाहालको प्रतिभाबाट आफू पहिलेदेखि नै धेरै प्रभावित भएको र विशेषगरी घटना र विचार कार्यक्रमले आफूलाई प्रभाव पारेको विचार राखेका थिए ।
कवि पुरुषोत्तम दाहालले विमोचन समारोहमा उपस्थित प्रमुख अतिथि, समालोचक, साहित्यकार र पत्रकार लगायतप्रति कृतज्ञता व्यक्त गर्दै आफ्नो कविता संग्रहमाथि भएका समालोचकीय चिरफार तथा बौद्धिक विचार विमर्शले उत्साही बनाएको र यसले आफूलाई साहित्यसाधनामा निरन्तर प्रेरित गर्ने धारणा राखेका थिए ।
समारोहका सभापति रवीन्द्रजंग थापाले कार्यक्रम आयोजना गर्ने अवसर प्रदान गर्ने सर्जक दाहाल र प्रकाशक शिखा बुक्सलगायत सभामा सहभागी र सहयोगी सबैप्रति धन्यवाद ज्ञापनसहित कार्यक्रमको समापन गरेका थिए । समग्रमा कवितासंग्रह–विमोचन समारोह भव्य रहेको सभामा प्रत्यक्ष सहभागी लेखक तथा उपप्राध्यापक उमेशप्रसाद घिमिरेले बताए ।