ब्याजदर वृद्धि र महंगीको दबाबमा छ विश्व अर्थतन्त्र :- आइएमएफ
काठमाडौं, २४ कात्तिक । वर्तमान अवस्थामा विश्वको अर्थतन्त्र ब्याजदर वृद्धि र महंगीको दबाबमा रहेको अन्तर्राष्ट्रिय मुद्रा कोषले बताएको छ । नेपालका लागि आइएमएफका आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजले काठमाडौंमा आयोजित एक कार्यक्रममा अहिले सबै देशको चासो र चिन्ताको विषय महंगी बनेको बताएकी छन् ।
अमेरीका लगायतका देशमा महंगी आक्रामक तरिकाले उच्च हुँदै गएको र अझै बढ्न सक्ने अनुमान गरिएको छ । कोभिडपछिको अपुर्ण रिकभरीले अधिकांश देश थप महंगीको मारमा पर्न सक्ने बताइएको छ । विश्वव्यापी वित्तीय अवस्था कडा हुँदै जानु, युक्रेन युद्धको नकारात्मक प्रभाव र अधिकांश वस्तुको भाउ बढ्दै जाँदा विश्व अर्थतन्त्र थप अनिश्चिततातर्फ धकेलिएको सान्चेजले बताइन् ।
कम आय भएका देशमा पनि मुल्य वृद्धि हुन सुरु भइसकेको र अझ बढ्न सक्ने उनले बताइन् । यसको प्रभावका कारण नेपालमा पनि अर्थतन्त्रमा अनिश्चितता कायमै रहेको आइएमएफले भनेको छ ।
यसका लागि आर्थिक नीतिमा बृहत सुधारको आवश्यकता औल्याएको छ । चीन तथा व्यापारिक साझेदारले गरेको निर्यात प्रतिबन्ध र नेपालको आफ्नै आन्तरिक प्राकृतिक प्रकोप र जलवायु सम्बन्धी प्रकोपका कारण जोखिम उत्पन्न हुनसक्ने आंकलन छ ।