Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माणको बाटो खुल्यो

कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माणको बाटो खुल्यो

जाजरकोट, १३ मंसिर । कोहलपुरदेखि सुर्खेतसम्म १३२ केभी प्रसारण लाइन निर्माणका लागि बाटो खुलेको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने १७५ रोपनी जग्गा प्रयोग गरेवापत नेपाल विद्युत् प्राधिकरणले सट्टाभर्ना बापत जग्गा दिनेभएपछि निर्माणको बाटो खुलेको हो ।

हाल निकुञ्ज अन्तर्गतको जग्गा विद्युत् प्राधिकरण प्रयोग गरेबापत अर्को जग्गा निकुञ्जलाई दिन प्रक्रिया शुरू भएपछि अवरोध हटेको कर्णाली प्रदेश विद्युत् प्राधिकरणका प्रमुख शम्भु कुसियात यादवले बताए ।

एक सय ३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याउन कोहलपुरदेखि सुर्खेतसम्म एक सय ६२ ओटा पोल राख्नुपर्ने हुन्छ, जसका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा मात्र ७४ ओटा पोल गाड्नुपर्ने प्राधिकरणले बताएको छ, जसमा ७४ पोलका लागि ४३ हेक्टर जमीन आवश्यक पर्छ ।

प्राधिकरणका अनुसार प्रसारणलाइन विस्तार गर्दा १३ हजार ५४ ओटा रूख कटानमा पर्दछन् । आयोजना निर्माण क्षेत्रमा सुर्खेतका वीरेन्द्रनगर, भेरीगंगा र लेकबेँसी नगरपालिकासहित बर्दिया र बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका पर्छन् ।

कर्णालीमा २०४५ सालमा जडान गरिएको ३३ केभी प्रसारण लाइनको भरमा विद्युत् सेवा सञ्चालन भइरहेको छ । दुई वर्षअघि रू. ६० करोडमा ठेक्का लागेको प्रसारण लाइनको काम भदौमा नौ महीनाका लागि पुनः थप गरिएको छ । प्रसारण लाइन निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले लिएको छ । उसले प्रसारण लाइनको डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्ट खरीदको काम सम्पन्न गर्नुपर्नेछ । अहिलेसम्म कम्पनीले ५० ओटा पोलका लागि फाउन्डेसको काम गरेको छ ।

विद्युत्को काम अहिलेसम्म २० प्रतिशत मात्र भएको छ । निकुञ्जले व्यक्तिगत जग्गा उपलब्ध गराउन भनेपछि विद्युत् प्राधिकरणमार्फत् असोज ६ गते निकुञ्ज आसपासमा व्यक्तिगत जमिन बेच्न चाहनेलाई लक्षित गर्दै सार्वजनिक सूचना निकालिएको थियो । उक्त सूचना अनुसार जग्गा पाइएपछि अहिले जग्गा मूल्यांकनको काम शुरू भएको छ ।

कर्णालीमा विद्युत् खपतको तुलनामा क्षमता नथपिँदा स्थानीयले लामो समयदेखि लोडसेडिङको मार भोगिरेका छन् । अहिले सुर्खेत भएरै दैलेख, जाजरकोट, जुम्ला, कालीकोट, रुकुम पश्चिम र सल्यानको कोही भागमा विद्युत् लाइन विस्तार छ । डोल्पामा यही विद्युत् पु¥याउन काम भइरहेको छ ।

कर्णाली प्रदेशमा प्राधिकरणका एक लाख ग्राहक छन् । करीब ३३ वर्ष पुरानो प्रसारण लाइनकै कारण विद्युत् आपूर्तिमा समस्या हुँदै आएको छ । कोहलपुरदेखि सुर्खेतसम्म झन्डै ८६ किलोमिटरको दूरीमा ९५ प्रतिशत भाग जंगल क्षेत्रभित्र पर्दछ । निकुञ्जसँग जोडिएको व्यक्तिगत जग्गा प्राप्त गर्न मूल्यांकनको काम सकेलगत्तै सो जग्गा निकुञ्जलाई दिएर निकुञ्जको जग्गामा भएका रुख कटान काम शुरू हुनेछ ।

आयोजना अन्तर्गत कोहलपुरदेखि सुर्खेतसम्म २६ ओटा एंगल टावर निर्माण छिट्टै शुरू हुनेछ । दुई हप्ताभित्र जग्गाको काम पूरा हुने प्राधिकरणका सुर्खेत प्रमुख कुसियत यादवले जानकारी दिए ।
वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार प्रसारण लाइनले ७० हेक्टर जमीन वन क्षेत्रको ओगट्नेछ । यो कामको शुरुआतसँगै सुर्खेतबाट जाजरकोटको १३२ केभी लाइन विस्तारका लागि मेहलकुनामा सबस्टेशन निर्माण गरिनेछ । अहिले १३२ केभी लाइन नहुँदा कर्णाली प्रदेशका जाजरकोट, रुकुम पश्चिम, सल्यान, सुर्खेत, कालिकोट र जुम्लामा समेत समस्या भइरहेको छ ।

यसैगरी प्राधिकरणले जाजरकोटको कुदुबाट चौखा हुँदै डोल्पाको त्रिपुराकोटसम्मको विद्युत् लाइनको पुरानो ठेक्का रद्द गरेर नयाँ ठेक्कासमेत लगाइसकेको छ । त्यस्तै कालिकोटबाट जुम्लाका लागि समेत नयाँ ठेक्का सदर भइसकेको प्रमुख यादवले बताए । जाजरकोटमा समेत अन्य ठेक्काका काम भइरहेका छन् । कर्णाली प्रदेशमा विद्युत् नपुगेको डोल्पा, हुम्ला र मुगुमा विद्युत् पु¥याउन काम भइरहेको यादवले जानकारी दिए । रासस

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x