भारतबाट घटेर आयाे पेट्रोलियम पदार्थको मूल्य, निगमलाई १३ रुपैयाँ बढी नाफा

काठमाडाैं, १६ मंसिर । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । शुक्रवार आईओसीले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हाे । सो मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा २ र डिजेलमा ११ रुपैयाँ मूल्य घटेर आएको छ ।
बिहीबारको नयाँ मूल्यअनुसार निगमलाई डिजेलमा ५० पैसा र पेट्रोलमा १३ रूपैयाँभन्दा बढी नाफा छ । त्यस्तै निगमलाई सबै गरेर अबको मूल्यअनुसार पन्ध्र दिनमा ५८ करोड रूपैयाँ नाफा हुनेछ ।
नाफा भए पनि निगमले मूल्य घटबढका बारेमा कुनै निर्णय गरेको छैन। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार घटिरहेको छ। तर, त्यस अनुसार मूल्य घटाउन निगमले आनाकानी गरिरहेको छ। निगमले दुई वर्षको अवधिमा नोक्सानी ५० अर्ब माथि रहेको भन्दै मूल्य घटाउन नचाहेको हो।
तर यो पटक खाना पकाउने एलपीजी ग्यासको मूल्य भने बढेर आएको छ। जाडोका कारण अन्तर्राष्ट्रिय बजारमै ग्यासको माग उच्च हुने भएकाले मूल्य बढेको हो। नयाँ मूल्य अनुसार निगमलाई एक सिलिण्डर ग्यासमा २ सय ७२ रुपैयाँ नोक्सानी छ।