Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

प्रदेश १ मा घट्यो औद्योगिक कर्जा प्रवाह

प्रदेश १ मा घट्यो औद्योगिक कर्जा प्रवाह

काठमाडौं, २० मंसिर । प्रदेश नं १ मा औद्योगिक कर्जा प्रवाहमा ह्रास आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनसम्बन्धी प्रदेश १ को वार्षिक प्रतिवेदन २०७८–७९ अनुसार २०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा कुल औद्योगिक कर्जा १६ दशमलव पाँच प्रतिशतले गिरावट आएको छ । सो अनुसार कुल औद्योगिक कर्जा एक खर्ब २१ अर्ब रुपैयाँमा खुम्चिएको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल औद्योगिक कर्जा ११ दशमलव पाँच प्रतिशतले बढेको थियो । विशेष गरी निर्माण, खानी र विद्युत् ग्यास तथा पानी उत्पादन गर्ने उद्योगमा प्रवाह भएको कर्जा घटेकाले समग्र औद्योगिक कर्जा घटेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी १३ दशमलव नौ प्रतिशतले बढेकोमा निर्माणसम्बन्धी उद्योगलाई प्रवाहित कर्जा सबैभन्दा बढी अर्थात् ७३ दशमलव आठ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो कर्जाहरु क्रमशः ११ प्रतिशत र नौ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा वर्षमा निर्माणजन्य वस्तुको मूल्य उच्च भएका कारण निर्माणसँग सम्बन्धित गतिविधि प्रभावित भई यस क्षेत्रमा प्रवाहित कर्जा घटेको देखिन्छ । प्रदेश नं १ मा ताप्लेजुङ, सोलखुम्बु, तेह्रथुम, खोटाङ, भोजपुर, ओखलढुंगा, संखुवासभा, पाँचथर, धनकुटा, इलाम, उदयपुर, सुनसरी, झापा र मोरङसहितका १४ वटा जिल्लाहरु छन् । सो अनुसार यो प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश २२ दशमलव तीन प्रतिशत रहेको छ । कुल औद्योगिक कर्जामध्ये गैरखाद्य वस्तुसम्बन्धी उद्योगर्फ सबैभन्दा बढी ५० दशमलव आठ प्रतिशत र विद्युत्, ग्यास तथा पानीतर्फ सबैभन्दा कम शून्य दशमलव आठ प्रतिशत कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकको अनुसार २०७९ असार मसान्तसम्ममा प्रदेश १ मा प्रवाहित कुल कर्जा प्रवाहमध्ये कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश १० प्रतिशत देखिएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जाको अंश नौ दशमलव छ प्रतिशत रहेको थियो । २०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट प्रदेश  १ को कृषि क्षेत्रमा प्रवाहित कर्जा १७ दशमलव आठ प्रतिशतले वृद्धि भई ५४ अर्ब ५२ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ । २०७८ असार मसान्तसम्म प्रदेश नं १ मा कृषि क्षेत्रमा प्रवाह भएको कुल कर्जा ४६ अर्ब २९ करोड रहेको थियो । २०७९ असार मसान्तसम्म कृषि कर्जाका विभिन्न शीर्षकमध्ये अन्य कृषि तथा कृषिजन्य सेवामा २५ दशमलव एक प्रतिशत, पशुपालनमा २४ दशमलव पाँच प्रतिशत, अन्नबालीमा १८ दशमलव तीन प्रतिशत, पक्षीपालनमा सात दशमलव सात प्रतिशत र तरकारी बाली उत्पादनमा पाँच दशमलव छ प्रतिशत कर्जा प्रवाह भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x