कोभिडपछि ह्वात्तै बढ्यो साहसिक पर्यटनमा आकर्षण, आन्तरिक पर्यटककै भरथेग
मानमती पाण्डेय
काठमाडौं, २१ मंसिर । लामो समयदेखि प्राकृतिक स्रोतसाधन र परम्परागत प्रडक्टमै बढी निर्भर रहँदै आएको मुलुकको पर्यटन क्षेत्रमा पछिल्लो समय विविधता बढेको छ । पर्यटन क्षेत्रमा प्रविधिदेखि प्रडक्टसम्म धेरै परिवर्तन हुँदै गएका छन् । विशेषगरी मानिसको फरक रुचि, चाहनालाई सम्बोधन गर्न साहसिक पर्यटन गतिविधिले प्रश्रय पाएको छ । एकपछि अर्को गर्दै सञ्चालनमा आएका जिप लाइन, बञ्जी जम्प यसका उदाहरण हुन् ।
साहसिक पर्यटनका गतिविधिमा यो बढोत्तरी छोटो समयमै भएको पाइन्छ । मुख्यतः कोभिडपछि यस्ता गतिविधि बढेका हुन्, जसमा आन्तरिक पर्यटकको आकर्षण ह्वात्तै बढेको सम्बन्धित पर्यटन व्यवसायी बताउँछन् ।
‘कोरोना महामारीपछि मानिसमा पैसा मात्र ठूलो कुरा होइन, रमाइलो पनि गर्नुपर्छ भन्ने सोच आयो, मनोरञ्जनका लागि नयाँ नयाँ गन्तव्यको खोजी गर्ने क्रममा साहसिक पर्यटनले आकर्षित गरेको हो,’ पर्वतको कुश्मामा बञ्जी, स्काई साइक्लिङ, स्वीङ लगायत साहसिक पर्यटन गतिविधि सञ्चालन गर्दै आएको कम्पनी द क्लिफका अध्यक्ष राजु कार्कीले भने, ‘सामान्य घुमघाम भन्दा आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्केर केही गरौं भनेर युवाहरू यस्ता गतिविधिमा आकर्षित देखिएका हुन् ।’
साथै युवाहरू आफूभित्रको डर जित्न पनि साहसिक पर्यटनका गतिविधिमा जोडिने गरेको धुलिखेल जिपलाइनका सञ्चालक केदार थापाले बताए । साहसिक पर्यटनका विभिन्न विधामध्ये जिपलाइनमा आन्तरिक पर्यटकको संख्या बढ्दै गएको उनको भनाइ छ । अहिले आन्तरिक पर्यटकले पहिले जिपलाइन खेलेर मात्र बन्जी जम्प गर्ने गरेको उनले बताए ।
साहसिक खेलप्रेमीका लागि उपयुक्त गन्तव्य बन्दै आएको धुलिखेल जिपलाइन र पर्वतको कुस्मास्थित बन्जी जम्पमा आन्तरिक पर्यटकको आकर्षण चुलिँदै गएको देखिन्छ । काठमाडौंबाट बिदाका दिन घुम्न जानेहरूका लागि धुलिखेल नजिकको गन्तव्य हो भने कुस्मा काठमाडौं उपत्यकाको कोलाहलभन्दा केही परको गन्तव्य हो ।
स्कुल, कलेज र कामबाट एकदमै व्यस्त रहने काठमाडौं उपत्यकाका युवाहरु बिदाको दिन निकालेर काठमाडौंबाट धुलिखेल जिपलाइनको रमाइलो लिन जाने गरेका छन् । युवा पुस्ताका साथै वयस्क र कहिलेकाहीँ ७०–८० कटेका वृद्ध–वृद्धा समेत जिपलाइनको अनुभव लिन आउने गरेको सञ्चालक थापाले बताए ।
सन् २०१८ मा व्यावसायिक रूपमा शुरू भएको धुलिखेल जिपलाइनमा ३ प्रकारका जिपलाइन खेल्न पाइन्छन्, जसमा सामान्यतया क्लासिक जिपलाइनको २ हजार ५०० रुपैयाँ, सुपरम्यान जिपलाइनको ३ हजार ५०० रुपैयाँ र टेण्डम (जोडी) जिपलाइनको ४ हजार ५०० रुपैयाँ पर्छ । जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सञ्चालन गरिएकाले जिपलाइन सुरक्षित रहेको सञ्चालक थापाले बताए ।
जिपलाइन व्यवसायलाई आन्तरिक पर्यटकले धानेको सञ्चालक थापाले बताए । ‘दैनिक औसत २५ जना आन्तरिक पर्यटक जिपलाइनका लागि आउने गरेका छन्, उनले भने, ‘विदेशी पर्यटक भने ५ जनासम्म आउने गरेका छन् ।’
यस्तै कालीगण्डकी नदीमाथि बनेको विश्वकै अग्लो स्वीङ र विश्वको दोस्रो अग्लो बन्जी जम्पमा समेत आन्तरिक पर्यटक बढ्दै गएको द क्लिफका अध्यक्ष कार्कीले बताए । यहाँ सञ्चालित साहसिक पर्यटनका गतिविधिकै कारण पर्वतको कुश्मा पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास भएको छ । अध्यक्ष कार्कीका अनुसार कुश्मामा बन्जी जम्पसहित ‘स्काई साइक्लिङ’, ‘स्काई क्याफे’, ‘क्रेजी ब्रिज’, ‘विसिङ ह्यान्ड’, ‘स्काई चेयर’, गुलेली पिङ, ‘हर्स राइडिङ’ले पनि पर्यटकलाई आकर्षित गरेको छ ।
कुस्माको बन्जी जम्पमा सिजनमा दैनिक ५–६० जना पुग्ने गरेका छन् भने अफसिजनमा समेत दैनिक औसत २०–३० जना पर्यटक आउने गरेको कार्कीले बताए । ‘चाडपर्वमा भने पर्यटकको एकदमै घुइँचो लाग्छ,’ उनले भने ‘सुरुवाती अवस्थामा आन्तरिक पर्यटकले मात्र धानेकोम अहिले करीब २० प्रतिशत जति बाह्य पर्यटक आउने गरेका छन् ।’ आफूहरूले सोचेकोभन्दा राम्रो संख्यामा पर्यटक आएकाले साहसिक खेलका नयाँ नयाँ संरचना थप्न उत्साह मिलेको उनको भनाइ छ ।
साहसिक पर्यटनका विधामा धुलिखेल जिपलाइन र कुश्माको बञ्जी जम्प प्रतिनिधि उदाहरण मात्र हुन् । यस्ता गतिविधि मुलुक विभिन्न ठाउँमा सञ्चालनमा आइसकेका छन् । धुलिखेल जिपलाइनपछि भेडेटार, मकवानपुरगढी, नुवाकोट, चितवन, भक्तपुर, सातघुम्ती (त्रिभुवन राजपथ) लगायत ठाउँमा लामो प्रकृतिका जिपलाइन सञ्चालनमा आइसकेको थापाले बताए । यस्तै लामो समयदेखि सिन्धुपाल्चोकको भोटेकोशीमा बञ्जी जम्प सञ्चालन हुँदै आएको छ भने पोखरामा समेत यो खेल सञ्चालनमा छ । साथै अन्य ठाउँमा समेत यस्ता गतिविधि सञ्चालनमा ल्याउने क्रम बढेको छ ।