Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

कात्तिकमा २४ उद्योगमा रू. ३ अर्ब ६५ करोडको लगानी प्रस्ताव

कात्तिकमा २४ उद्योगमा रू. ३ अर्ब ६५ करोडको लगानी प्रस्ताव

काठमाडौं, २६ मंसिर । चालु आर्थिक वर्षको पहिलो चार महीनामा नेपालमा करीब ६ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भित्रिएको छ । साउनदेखि कात्तिकसम्ममा ५ अर्ब ८९ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रस्ताव आएको उद्योग विभागले हालै सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । ४३ उद्योगका लागि उक्त लगानी प्रतिबद्धता आएको हो ।

विभागका अनुसार कात्तिक महीनामा आएको लगानी प्रतिबद्धता चालू आर्थिक वर्षको पहिलो तीन महीनाको भन्दा धेरै छ । साउनदेखि असोजसम्ममा १९ ओटा उद्योगका लागि २ अर्ब २४ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता भएको थियो । तर कात्तिकमा भने २४ विदेशी उद्योगका लागि ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव गरिएको छ ।

असोजसम्ममा निराशाजनक रहेको वैदेशिक लगानी प्रतिबद्धता कात्तिकमा अकस्मात् उल्लेख्य संख्या र परिमाणमा बढेको देखिन्छ । विभागका अनुसार कात्तिकमा ठूला उद्योग एक, मझौला १० र साना उद्योग १९ ओटा दर्ता भएका छन् ।

दर्ता भएका कुल उद्योगमध्ये आधा पर्यटनमूलक छन् । पर्यटनसम्बन्धी १२ उद्योग दर्ता भएका हुन् । यस्तै सेवामूलक १० र पूर्वाधार तथा सूचना प्रविधिका एक÷एकओटा उद्योग दर्ता भएका छन् । कात्तिक महीनामा लगानी प्रतिबद्धता गरिएका सबै उद्योगबाट गरी १ हजार ७९१ रोजगारी सृजना हुने उल्लेख छ ।

हालसम्म नेपालमा विदेशी लगानीका ५ हजार ६२८ उद्योग दर्ता भएका छन्, जसका लागि ४ खर्ब ३० अर्ब ८६ करोड ९७ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता गरिएको विभागको तथ्यांक छ । उक्त लगानीमा स्थापना हुने उद्योगले २ लाख ९७ हजार ९३५ रोजगारी सृजना हुने विभागसमक्ष गरिएको लगानी प्रस्तावमा उल्लेख छ ।

विभागले काम शुरू गरेयता हालसम्म दर्ता भएका उद्योगमा ठूला ३२३, मझौला ६२२ र साना उद्योगको संख्या ४ हजार ६८३ रहेको छ । यस्तै सेवामूलक क्षेत्रमा सबैभन्दा बढी १ हजार ८ सय ६७, पर्यटनका १ हजार ८५५, उत्पादनमूलक १ हजार २६९, कृषिका २९५, सूचना प्रविधिका १२४, ऊर्जाका ९१, खनिजका ७२ र पूर्वाधारका उद्योगको संख्या ५५ रहेको छ ।

नेपालमा उद्योग स्थापनाका लागि लगानी प्रतिबद्धता बढ्दै गए पनि सोको अनुपातमा भित्रने लगानी भने निकै कम छ पछिल्लो ५ वर्षको तथ्यांकले प्रतिबद्धताको तुलनामा ५१ दशमलव ५९ प्रतिशत कम लगानी भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । प्रतिबद्धताअनुसार विदेशी लगानी नभित्रिएपछि उद्योग विभागले गत कात्तिक १८ गतेदेखि व्यावसायिक भिसामा कडाइ गर्न थालेको छ । प्रतिबद्धता गर्ने, तर लगानी नल्याउने प्रवृत्ति बढेपछि विभागले व्यावसायिक भिसामा कडाइ गर्न थालेको हो ।

विभागका अनुसार कात्तिकमा ४५९ व्यावसायिक भिसा सिफारिश गरिएको छ । ३३७ लगानीकर्ता, ३३ प्रतिनिधि र लगानीकर्तासँग आश्रित ८९ जनाका लागि व्यावसायिक भिसा सिफारिश गरिएको छ । यसैगरी विज्ञापन तथा प्रविधि हस्तान्तरण सम्झौताका लागि थप दुईओटा भिसा सिफारिश गरिएको छ ।

नेपालमा वैदेशिक लगानी भिœयाउन तथा लगानी सहजीकरणका लागि सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५, राष्ट्रिय बौद्धिक सम्पत्ति नीति, २०७३, विदेशी लगानी नीति, २०७१, औद्योगिक नीति, २०७६, कम्पनी ऐन, २०६३ लगायतलाई ऐन तथा नीतिनियम कार्यान्वयनमा ल्याइएको छ । नेपालमा आउने लगानीमध्ये ६ अर्ब रुपैयाँसम्मको उद्योग विभाग र सोभन्दा बढी लगानी लगानी बोर्ड नेपालमार्फत स्वीकृत हुने व्यवस्था छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x