प्रत्यक्षमा भन्दा समानुपातिकमा बढी मत बदर
काठमाडौं, २६ मङ्सिर । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा प्रणालीमा भन्दा समानुपातिक प्रणालीतर्फ बढी मत बदर भएको देखिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा प्रणालीमा १ करोड १० लाख ४७ हजार ३४ अर्थात् ६१ दशमलव ४१ प्रतिशत मतदान भएकामा ५ दशमलव शून्य ६ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
निर्वाचन आयोगको सूचना प्रविधि महाशाखाका अनुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २२६ अर्थात् ६१ दशमलव ३५ प्रतिशत मतदान भएकोमा ५ प्रतिशत मत बदर भएको छ ।
प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि १ करोड १० लाख ३४ हजार ५०० अर्थात् ६१.३६ प्रतिशत मतदान भएकोमा ४ प्रतिशत मत बदर भएको छ । प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १० लाख २८ हजार ३७६ अर्थात् ६१.३१ प्रतिशत मतदान भएकोमा ६.५५ प्रतिशत मत बदर भएको छ ।
प्रदेशसभातर्फ प्रत्यक्षमा मनाङको प्रदेशसभा २ मा निर्विरोध भएकाले सो क्षेत्रको मतगणनामा समावेश नगरिएको आयोगले बताएको छ । आयोगले समानुपातिकतर्फको विजयीहरूको अन्तिम घोषणा आज (मंगलवार) गर्ने बताएको छ । रासस