सामाजिक सुरक्षा कोषकाे कार्यविधि सार्वजनिक, अनौपचारिक श्रमिक र वैदेशिक रोजगारीमा रहेका व्यक्ति पनि सामाजिक सुरक्षा योजनामा समेटिने
काठमाडाैं, ६ पुस । सामाजिक सुरक्षा कोषले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई पनि समेट्ने भएको छ । कोषले मंगलवार तीनवटै क्षेत्रका श्रमिकलाई कोषमा आवद्ध गराउने गरी सामाजिक सुरक्षा योजना कार्यविधि ल्याएको हाे ।
यस्तो कार्यविधिअनुसार अनौपचारिक क्षेत्रमा रहेका ४२ लाख, स्वरोजगारीमा रहेको १८ लाख र वैदेशिक रोजगारीमा रहेका २२ लाख गरी करीव ८२ लाख श्रमिककलाई कोषमा आबद्ध गराउने योजना कोषको छ ।
कोषमा आबद्ध हुन न्यूनतम श्रमिकको तीन गुणासम्म योगदान गर्न सकिने छ । कोषमा आबद्ध हुन अनौपचारिक क्षेत्रका श्रमिकले न्यूनतम आधारभूत तलब ९ हजार ३८५ बाटै योगदान गर्न सक्ने सुविधा कोषले दिएको छ । यसरी योगदान गर्ने श्रमिकले औषधि उपचार, स्वास्थ्य र मातृत्व, दुर्घटना तथा अशक्त सुरक्षा, आश्रित परिवार तथा वृद्धावस्था सुरक्षा योजनामा तोकिएअनुसारको सुविधा पाउने छन् ।
कोषमा योगदान गर्ने अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकले वार्षिक १ लाखसम्मको औषधि उपचार, ९८ दिनसम्मलाई मासिक ९ हजार ३८५ का दरले मातृत्व सुविधा र ९ हजार ३९५ रुपैयाँ शिशु स्याहार सुविधा पाउने छन् ।
७ लाख रुपैयाँसम्म उपचार खर्च व्यवहोर्ने दुर्घटना बीमा तथा न्यूनतम तलबमान ९ हजार ३८५ को ६० प्रतिशतले हुन आउने ५ हजार ६३१ रुपैयाँ अशक्तता पेन्सन सुविधा कोषले दिने भएको छ । आश्रित परिवार सुरक्षामा २५ हजार रुपैयाँ काजकिरिया खर्च, आश्रित परिवारको लागि ४० प्रतिशत र स्वरोजगारीको हकमा ४० प्रतिशत औसत तलबबाट आजीवन पेन्सन दिने छ । यस्तो योजनामा सन्ततिको लागि २१ वर्षसम्म ४० प्रतिशतका दरले शैक्षिक वृत्ति दिइने छ ।
अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकले कोषमा आबद्ध हुन स्थानीय तहको सिफारिस लिनुपर्ने छ । अग्रिम रूपमा योगदानको सुविधा पनि दिइएको छ । यसका लागि १० प्रतिशत छुट दिइएको कोषले जानकारी दिएको छ । यो सुविधा आगामी वैशाखदेखि मात्रै पाइने भएको छ ।
वैदेशिक रोजगारीमा रहेका मजदुरले भने मासिक २ हजारदेखि २८ हजार १५५ रुपैयाँसम्म योगदान गर्न पाउने छन् । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक वा विदेशमा स्वरोजगारीमा रहेका व्यक्तिले सामाजिक सुरक्षा कोषमा नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत रकम योगदान गर्नुपर्ने भएको छ । सामाजिक सुरक्षा कोषका अनुसार वैदेशिक रोजगारीका श्रमिकलाई भने तीन महिनाभित्र यसले दिने सेवा सुविधा र योगदान शुरु गर्ने भएको छ । वैदेशिक रोजगारीमा जानेले श्रम स्वीकृति लिँदा र गइसकेकाले अनलाइनमार्फत आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।