तीन दिनमै १५०० रूपैयाँले बढ्याे सुनकाे मूल्य, अझै कति पुग्ला ?
काठमाडौं, २० पुस । पछिल्लाे समय लगातार जसाे बढीरहेकाे सुनकाे मूल्यले बुधबार नयाँ रेकर्ड कायम गरेकाे छ । आजका लागि छापावाल सुनकाे मूल्य ताेलाकाे १ लाख २ हजार ९०० रूपैयाँ पुगेकाे छ । आज सुनकाे मूल्य याे वर्षकै उच्च बिन्दुमा पुगेकाे हाे ।
साताको पहिलो दिन आइतबार तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनकाे मूल्य साेमबार भने स्थिर रहेकाे थियाे ।यस्तै मैगलबार एकैदिन ताेलामा ९०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज बुधबार पनि ३०० रूपैयाँले बढेर ताेलाकाे १ लाख २ हजार ९०० रूपैयाँ पुगेकाे हाे ।
यस्तै मंगलबार प्रतिताेला १ लाख २ हजार १०० रूपैयाँमा काराेबार भएकाे तेजावी सुनकाे मूल्य आजका लागी १ लाख २ हजार ४०० रूपैयाँ निर्धारण भएकाे छ ।
यता आज चाँदीको मूल्य भने घटेको छ। मंगलबारको तुलनामा चाँदीको मूल्य १० रुपैयाँ घटेर तोलाकाे १४०० रूपैयाँ निर्धारण भएकाे महासंघले जनाएको छ।
रुस–युक्रेन द्वन्द्व, विभिन्न देशका डलर तथा मुद्राहरुको भाउ बढ्नु, आर्थिक मन्दीको संकेत देखिनु आदि विभिन्न कारणले अन्तर्राष्ट्रिय बजारमा सुनकाे मूल्य बढेकाे र त्यसैकाे प्रभाव नेपालमा परेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य बताउँछन् ।
अफ सिजनमा घट्नु पर्ने सुनकाे मूल्य लगातार बढीरहँदा काराेबार ठप्प बनेपछि सुन व्यवसायीहरू दिन भरी पसल कुरेर मात्र बसिरहेका छन् । एकातिर अफ सिजन, अर्कोतिर मूल्य वृद्धि भएर अहिले बजारमा सुनको कारोबार एकदमै न्यून भएकाे सुन व्यवसायी समेत रहेका शाक्यले बताए। उनी भन्छन्, ‘अहिले व्यापार शुन्य नै छ । ग्राहक कुरेर बस्ने काम मात्र भइरहेको छ । किन्नेत कहिले काही आउँछन् तर बेच्ने भने आइरहन्छन्।’
विश्वभर नै धनी मुलुकका रिजर्भ बैंकहरूले सुन खरिद गरेर भण्डारण बढाएकाले पनि मूल्य बढेको व्यवसायीहरूकाे बुझाइ छ । विश्वमा नै आर्थिक मन्दी चलिरहेकाे हुँदा मानिसले सुरक्षित लगानीका रूपमा सुनमा लागानी गर्न थालेकाेले पनि विश्व बजारमा सुनकाे माग बढेकाेले याे मूल्य अझै बढ्ने व्यवसायी हरूकाे अनुमान छ ।