१६ खर्व बढीको बजेट ल्याइदैं, अप्रहान्न चार बजे संघीय सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडा
काठमाडौं, जेठ १५ । सरकारले आज आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि बजेट प्रस्तुत गर्दै छ । संविधानको धारा ११९ अनुसार राजस्व र व्ययको अनुमान अर्थमन्त्री डा युवराज खतिवडाले वेलुका ४ बजे बोलाइएको संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।अर्थमन्त्री खतिवडाले राजस्वको अनुमान, संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र संघीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकमहरू प्रस्तुत गर्नेछन् ।
संविधानबमोजिम वार्षिक अनुमान पेश गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन, त्यसको विवरण पनि साथै पेश गर्ने गरिन्छ । बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विद्येयक–२०७५, आर्थिक कार्यविधिसम्बन्धी विद्येयक– २०७५ र राष्ट्र ऋण उठाउने विद्येयक– २०७५ पेश गर्नेछन् ।
सरकारले ल्याउने उक्त बजेटमा संघीय संसद्को दुवै सदनले पास गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र निर्वाचनमा जाँदा नेपाल कम्युनिष्ट पार्टीले तयार पारेको घोषणा पत्रलाई आधार बनाइएको बुझिएको छ । करिव १६ खर्वको वरिपरि रहेर सरकारले बजेट निर्माण गरेको बुझिएको छ । ठुला पूर्वधार निर्माण, रोजगारी सृजना र उत्पादकत्व बृद्धिलाई मुख्य प्राथामिकता राखिएको छ ।