सरकारले आन्दोलनरत यातायात मजदुरलाई बाेलायाे वार्तामा
काठमाडाैं, २ फागुन । यातायात व्यवसायीले नयाँ बसपार्कभित्र आफ्ना कम्पनीको सवारीसाधन ‘पार्किङ’ गर्न लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरे पनि मजदुरले भने त्यसको विरोध गरेका छन् ।
विसं २०५६ मा काठमाडौँ महानगरपालिकाले ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरेर काठमाडौँ महानगरपालिका–२६ गोँगबुस्थित विष्णुमती किनारामा राष्ट्रिय बसपार्कका रूपमा सञ्चालनमा ल्याएको थियो ।
उक्त बसपार्कबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्नेबारे यातायात व्यवसायीहरूको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँग सम्झौता गरेर बसहरू देशका विभिन्न भागमा ओहोर–दोहोर गर्दै आएका छन् । सार्वजनिक ठूला बस नयाँ बसपार्कबाट सञ्चालनमा आए पनि माइक्रोबस र केही बस भने अहिले नयाँ बसपार्क र गोँगबुचोकको बीचको सडकबाट सञ्चालन हुँदै आएका छन् ।
पछिल्लो समय नयाँ बसपार्क र गोँगबुचोकको बीचको सडक विस्तार हुने क्रममा रहेपछि त्यहाँबाट सञ्चालन हुँदै आएका बस र माइक्रोबस नयाँ बसपार्कबाट सञ्चालन गर्नेबारे व्यवसायीसँग छलफल भइरहेको बेलामा केही व्यवसायी तथा मजदुर सडकबाट बस सञ्चालन गर्न पाउनुपर्ने अडान राखेर आन्दोलनमा उत्रिएका जनाइएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले एक विज्ञप्ति जारी गरी सोमबार नयाँ बसपार्कमा घटेको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले समस्याको समाधान गर्न सबै पक्ष संयमित भई आ–आफ्नो ठाउँबाट पहल गर्न अपिलसमेत गर्नुभएको छ ।
यसैबीच सरकारले आन्दोलनरत यातायात मजदुरलाई मङ्गलबार वार्ताका लागि बोलाएको छ । आन्दोलनरत यातायात मजदुरलाई मङ्गलबार बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आह्वान गरिएको यातायात विभागका महानिर्देशक तुलसी गौतमले जानकारी दिनुभयो ।
यातायात व्यवस्था विभागले सबै पक्षलाई संयमित हुन आग्रह गर्दै पूर्वघोषित तथा अघोषित सबै मागबारे छलफलबाट समाधान गर्न पनि आग्रह गरेको छ ।