Date

आइत, बैशाख १६, २०८१
Sun, April 28, 2024

२० प्रतिशतले घट्यो आयात

२० प्रतिशतले घट्यो आयात

काठमाडौं, ११ फागुन । माघ अघिल्लो महिना पुसको तुलनामा आयात २० प्रतिशतले घटेको छ । भन्सार विभागका अनुसार माघसम्म नेपालले नौ खर्ब १९ अर्ब १६ करोड रुपियाँको वस्तु आयात गरेको छ । जुन अघिल्लो माघको तुलनामा २० प्रतिशतले कम हो । आयातजस्तै निर्यात पनि खुम्चिएको छ । गत माघको तुलनामा वस्तु निर्यात २९ प्रतिशतले घटेर करिब साढे ९३ अर्ब रुपियाँमा सीमित छ ।

आयात र निर्यात दुवै घट्दा मुलुकको समग्र अन्तर्राष्ट्रिय व्यापार २१ प्रतिशतले घटेर १० खर्ब १२ अर्ब रुपियाँ पुगेको छ । व्यापार घाटा पनि करिब १९ प्रतिशतले घटेर आठ खर्ब २५ अर्ब रुपियाँ पुगेको छ । व्यापार घाटा पनि सङ्कुचन हुँदा गत आर्थिक वर्षको तुलनामा नेपालको घाटा करिब दुई खर्ब रुपियाँ नजिक छ ।

आयातको तुलनामा निर्यात घट्ने क्रम बढेकाले कुल व्यापारमा निर्यातको हिस्सा गत आर्थिक वर्षको १० दशमलव २९ प्रतिशतबाट घटेर ९ दशमलव २३ प्रतिशत पुगेको छ । आयातको हिस्सा भने ८९ दशमलव ७१ प्रतिशतबाट बढेर ९० दशमलव ७७ प्रतिशत पुगेको छ ।

वस्तुगत हिसाबले पेट्रोलियम पदार्थ नै आयातको सबैभन्दा शीर्ष स्थानमा छ । धेरै आयात भएका मुख्य तीन वस्तुमा डिजेल, पेट्रोल र एलपी ग्यास रहेको तथ्याङ्कमा उल्लेख छ ।

माघसम्म ८४ अर्ब ६१ करोडको डिजेल, ३८ अर्ब ७३ करोड रुपियाँको पेट्रोल र ३३ अर्ब ३४ करोड रुपियाँको एलपी ग्यास आयात भएको छ । त्यसपछि २६ अर्ब ४२ करोड रुपियाँको कच्चा भटमास तेल, २३ अर्ब ६६ करोड रुपियाँको फलामबाट बनेका उत्पादन, १८ अर्ब ४५ करोडको कच्चा सुन, १७ अर्ब ७६ करोडको कच्चा पाम तेल र १४ अर्ब ७६ करोड रुपियाँको स्मार्ट फोन आयात भएको छ ।

वस्तु निर्याततर्फ १२ खर्ब रुपियाँको प्रशोधित पाम तेल, आठ अर्ब २७ करोड रुपियाँको भटमास तेल, छ अर्ब ४५ करोड रुपियाँको गलैँचा, चार अर्ब ८९ करोड रुपियाँको अलैँची, दुई अर्ब ८२ करोड रुपियाँको फेल्ट निर्यात भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x