४४.७ प्रतिशतमा पुग्यो बीमाको पहुँच

काठमाडौं, १५ चैत । चालू आर्थिक वर्षको ७ महिनामा नेपालमा जीवन बीमाको दायरा ४४.७ प्रतिशतमा पुगेको छ । माघ महिनासम्ममा जारी भएको म्यादी जीवन बीमालेख र वैदेशिक रोजगार बीमालेख समेत समावेश गर्दा बीमाको दायरामा आएको जनसंख्या उक्त प्रतिशतमा पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बीमाको पहुँचमा रहेको जनसंख्या ३३.२ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा जारी भएको कुल बीमालेख संख्यामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.७ प्रतिशतले वृद्धि भई १ करोड ५८ लाख ९६ हजार ४ सय २३ पुगेको छ । जसमध्ये जीवन बीमालेख (म्यादी जीवन बीमालेख र वैदेशिक रोजगार बीमालेख सहित) र निर्जीवन बीमालेखको हिस्सा क्रमशः ८९.७ प्रतिशत र १०.३ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा उक्त हिस्सा क्रमशः ८६.१ प्रतिशत र १३.९ प्रतिशत रहेको थियो ।
यस अवधिमा सङ्कलन भएको बीमा प्रिमियम रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.२ प्रतिशतले वृद्धि भई रु. १ खर्ब ६ अर्ब ४५ करोड पुगेको छ । गत आर्थिक वर्षमा उक्त रकम रू. १ खर्ब ३ अर्ब ११ करोड रहेको थियो । यस अवधिको बीमा प्रिमियम रकममा जीवन बीमा र निर्जिवन बीमा तर्फको हिस्सा क्रमशः ७८.३ प्रतिशत र २१.७ प्रतिशत रहेको छ। गत वर्षको माघ महिनासम्म उक्त हिस्सा क्रमशः ७८.८ प्रतिशत र २१.२ प्रतिशत रहेको थियो ।