८ महिनामा करिव ८ खर्बको रेमिट्यान्स भित्रियो, फागुनमा मात्र १ खर्ब ४ अर्ब
काठमाडाैं, २८ चैत । चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २५.३ प्रतिशतले वृद्धि भएकाे छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार ८ महिनाको अवधिमा ७ खर्ब ९४ अर्ब ३२ कराेड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
चालू आर्थिक वर्षको माघ मसान्तसम्म ६ खर्ब ८९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियाे । फागुनमा मात्रै १ खर्ब ४ अर्ब रेमिट्यान्स आएको छ । जुन माघ महिनाको तुलनामा १५ प्रतिशत बढी हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८ प्रतिशतले वृद्धि भई ६ अर्ब ९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.६ प्रतिशतले घटेको थियो ।
यस्तै वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५४.३ प्रतिशतले वृद्धि भई ३,५१,७६१ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८.० प्रतिशतले वृद्धि भई १,९२,५५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४०.९ प्रतिशतले बढेको थियो ।