५.५ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप
काठमाडौं, २९ चैत । चालू आर्थिक वर्षको ८ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु.२८० अर्ब ५७ करोड (५.५ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.१९२ अर्ब १२ करोड (४.१ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १०.५ प्रतिशतले बढेको छ ।
२०७९ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.९ प्रतिशत, २५.७ प्रतिशत र ५९.९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.४ प्रतिशत, २९.२ प्रतिशत र ५५.५ प्रतिशत रहेको थियो ।
फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.८ प्रतिशत रहेको छ । २०७८ फागुन मसान्तमा यस्तो निक्षेपको अंश ३८.८ प्रतिशत रहेको थियो ।