आगामी वर्षदेखि बूढीगण्डकी आयोजनाको निर्माण अघि बढ्छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं, ३ वैशाख । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गोरखा र धादिङको सिमानामा पर्ने बूढीगण्डकी जलाशययुक्त आयोजना आगामी आर्थिक वर्षदेखि निर्माण सुरु हुने बताए ।
गोरखाको पालुङटार नगरपालिकामा महटार युवा क्लबको आयोजनामा आजदेखि सुरु भएको फुटबल प्रतियोगिताको उद्घाटनमा सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षदेखि देशको आर्थिक तथा सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको थालनी गरिने बताएका हुन् ।
‘गोरखा जिल्लाका लागि मात्र होइन, राष्ट्रका निम्ति अत्यन्त ठूलो योगदान पु¥याउने बूढीगण्डकी परियोजनालाई अर्को वर्षदेखि निर्माण अघि बढाइएको छ,’ उनले भने, ‘बेनीघाट आरुघाट रुइला भञ्ज्याङ सडक निर्माण गरी चीनसँगको नाका खोल्नका लागि समेत सरकारले प्रस्ताव गरिरहेको छ ।’
उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकार जनताले अनुभूति गर्ने गरी विकास निर्माणका कामअघि बढाउन प्रतिबद्ध रहेको समेत बताए ।
राजनीतिक परिवर्तनलाई जोगाउँदै सम्बृद्ध नेपाल बनाउनु अहिलेको सरकारको उद्देश्य रहेको उनको भनाइ छ । लामो सङ्र्घषपछि ठूलो बलिदानीका साथ युगान्तकारी राजनीतिक परिवर्तन भएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले संविधानको पूर्ण कार्यान्वयनका लागि आर्थिक र सामाजिक परिवर्तनमा तीव्रता दिनु आवश्यक रहेको औंल्याए ।