आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत
काठमाडाैं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गरेको छ । आइतवार संघीय संसद्मा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत गर्नुभएको हो ।
जसमध्ये चालूतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन गरिएको छ । बजेटले आगामी आर्थिक वर्षमा प्रदेश तथा स्थानीय तहमा जाने अनुदान रकम घटाएको छ, जसअनुसार प्रदेश र स्थानीय तहलाई ४ खर्ब अनुदान छुट्याइएको छ । यस्तै राजस्व बाँडफाँटबाट १ खर्ब ७३ अर्ब विनियोजन गरिएको छ ।
उक्त बजेटको स्रोतको रूपमा १२ खर्ब ४८ अर्ब ६२ करोड राजस्वको अनुमान गरिएको छ । यस्तै २ खर्ब १२ अर्ब ७५ करोड वैदेशिक ऋण, २ खर्ब ४० अर्ब आन्तरिक ऋण र ४९ अर्ब ९४ करोड विदेशी अनुदान प्राप्तिको लक्ष्य रहेको छ ।
सरकारले बजेटमार्फत ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ भने मूल्यवृद्धिलाई ६.५ प्रतिशतको वाञ्छित सीमामा राख्ने भएको छ ।
बजेट वक्तव्यमार्फत अर्थमन्त्र महतले यस वर्ष सरकारको खर्च ८३ प्रतिशत हुने र राजस्व संकलन ६ प्रतिशतले घट्ने अनुमान प्रस्तुत गर्नुभएको छ ।
आगामी आर्थिक वर्षको बजेटमार्फत कृषिलाई मुख्य प्राथमिकता दिइएको छ । साथै चालू खर्च कटौतीलाई समेत जोड दिएको छ, औचित्य र आवश्यकताका आधारमा २० ओटा संस्थान खारे गरिने भएको छ । बजेटका अन्य प्राथमिकतामा डिजिटल अर्थतन्त्रको प्रवद्र्धन, रोजगारी सृजना, पर्यटन, सूचना प्रविधिको विकास, साना तथा मझौला उद्योग व्यवसाय प्रवद्र्धन, विदेशी लगानी आकर्षण, निर्यात अभिवृद्धि लगायत क्षेत्र रहेका छन् ।
चालू आर्थिक वर्षमा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याइएको थियो । उक्त बजेटमार्फत ८ प्रतिशतको आर्थिक वृद्धि र मूल्यवृद्धिलाई ७ प्रतिशतको सीमामा राख्ने लक्ष्य लिइएको थियो ।