गुणस्तरीय सहरी पूर्वाधार सरकारको प्राथमिकतामा
काठमाडौं, १७ जेठ । सरकारले सुरक्षित, स्वच्छ, व्यवस्थित र आर्थिक रूपमा गतिशील सहर निर्माणका लागि गुणस्तरीय सहरी पूर्वाधार सेवा तथा सुविधा उपलब्ध गराउने गरी सहरी विकास तर्फको बजेट केन्द्रित गरेको छ । आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत बजेटमा वसन्तपुर, खुर्कोट, चौरजहारी, बैतडी–पाटनलगायतका नयाँ सहर आयोजनाको पूर्वाधार निर्माण कार्यका लागि रु. दुई अर्ब १९ करोड विनियोजन गरिएको छ । सरकारले सुर्खेत जिल्लाको भेरीगङ्गा उपत्यकाको एकीकृत सहरी विकासको गुरुयोजना तर्जुमा गरी निर्माण कार्य अगाडि बढाउने भएको छ ।
सघन सहरी विकास कार्यक्रमअन्तर्गत निर्माणाधीन सहरी पूर्वाधार आयोजना सम्पन्न गर्न रु आठ अर्ब चार करोड विनियोजन गरेको उल्लेख गर्दै अर्थमन्त्री डा महतले यसअन्तर्गत सघन बस्ती भएका नगर क्षेत्रमा सडक, ढल निर्माणलगायतका पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना रहेको जानकारी दिए ।
सरकारले जनता आवास कार्यक्रमअन्तर्गत अति विपन्न, दलित, लोपोन्मुख, सिमान्तकृत जनजाति र समुदायका लागि घर निर्माण गर्न रु. एक अर्ब २६ करोड विनियोजन गरेको छ । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत १० हजार आवासीय भवनको फुस, पराल र खरको छानालाई जस्तापाता वा अन्य स्थायी सामग्रीले विस्थापन गर्न ७९ करोड बजेट विनियोजन गरेको छ ।
सङ्घीय संसद् भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ । भवनको आन्तरिक पूर्वाधारलगायतका बाँकी काम सम्पन्न गर्न रु. एक अर्ब २२ करोड बजेट व्यवस्था गर्नुका साथै सरकारले लागत साझेदारीमा निर्माण भइरहेका स्थानीय तहको प्रशासकीय भवन सम्पन्न गर्न रु. ५८ करोड विनियोजन गरेको छ ।