Date

शुक्र, चैत्र २१, २०८१
Fri, April 4, 2025

पर्यटन पुनरुत्थान : प्रयास र उपलब्धि

पर्यटन पुनरुत्थान : प्रयास र उपलब्धि

 सृजना राणा
अध्यक्ष, होटल संघ नेपाल
पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको विकासका लागि उच्च सम्भावना बोकेको क्षेत्र हो । अद्वितीय प्राकृतिक एवं सांस्कृतिक सम्पदा र विविधताको कारण यस क्षेत्रमा तुलनात्मक लाभ रहेको छ । साहसिक, धार्मिक, सांस्कृतिक र प्रकृतिमा रमाउने पर्यटकका लागि विश्वमै अग्रणी मानिन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि आठ हजार मिटरभन्दा अग्ला अधिकांश हिमाल मात्र नभई ट्रेकिङ, र्‍याफ्टिङ, जंगल सफारी, सांस्कृतिक सम्पदा, प्राकृतिक सम्पदालगायतमा नेपालले वरदान नै पाएको छ । खासगरी हिमाली प्राकृतिक सुन्दरता, हाम्रो नेपाली मौलिक संस्कृति, नेपाली विशेषता बोकेका महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल, मौलिक सांस्कृतिक तथा पुरातात्विक सम्पदा नेपालको पर्यटन क्षेत्रमा प्रचुर सम्भावना बोकेका क्षेत्र हुन् । पर्यटन प्रवद्र्धनको माध्यमबाट रोजगारीका अवसर वृद्धि, गरिबी निवारण र जनताको जीवनस्तरमा सुधार ल्याई आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न यस क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ । साथै पर्यटन क्षेत्रमा हाम्रा सामु प्रचुर मात्रामा स्रोतसाधनको उपलब्धताले गर्दा पर्यटन क्षेत्र समृद्ध नेपालको संवाहकको रूपमा रहेको छ ।

तर जतिसुकै सम्भावना भए पनि वर्षमा १० लाख पर्यटक भित्र्याउन समेत कठिन भइरहेको छ । त्यसमाथि खर्चालु पर्यटकको आगमन अत्यन्त कम छ । पर्यटकको बसाइ अवधि लम्ब्याउन सकिएको छैन । पर्यटन पूर्वाधार अभाव र भएका प्रडक्टहरूको अन्तर्राष्ट्रिय बजारमा मार्केटिङ गर्न नसक्दा पर्यटन क्षेत्रबाट सम्भावना अनुरूप लाभ लिन नसकेको स्पष्ट छ ।

चीनको वुहानबाट सुरु भई विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड– १९ को आकस्मिक प्रकोपबाट नेपाल र यहाँको पर्यटन क्षेत्र अछुतो रहन सकेन । २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्यका साथ सञ्चालन गरिएको नेपाल भ्रमण वर्ष जनस्वास्थ्य संकटका कारण २०२० सुरुवाती चरणमै स्थगित हुन पुग्यो । नेपाल भ्रमण वर्षका लागि राज्यले यथेष्ट लगानी गरे तापनि त्यसको प्रतिफल लिन सक्ने अवस्था रहेन । विश्वव्यापी रूपमै बजार अर्थतन्त्रमा गम्भीर असरहरू देखा परिरहँदा वस्तु तथा सेवाको उत्पादन र विनिमय प्रभावित भयो ।

नेपालको पर्यटन क्षेत्र अझै पनि लयमा फर्किन सकेको छैन । कोभिडअघि पर्यटन क्षेत्र उत्साहजनक अवस्थामा अघि बढ्दै थियो । तर कोभिडसँगै बन्दाबन्दी एवं यात्रा प्रतिबन्धको घोषणाले सडक तथा हवाई यातायात आवातजावतका क्षेत्रमा समेत बहुआयामिक असर प¥यो । त्यस्तै, होटेल, रेस्टुरेन्ट, हाइकिङ, ट्रेकिङ, पर्वतारोहण तथा अन्य साहसिक पर्यटनमा समेत अवरोध हुँदा मूलतः अघिल्लो दुई वर्षको तुलनामा सन् २०१९ मा विदेशी पर्यटक आगमनमा २.१ प्रतिशतले मात्र बढेकोमा सन् २०२० मा यस्तो आगमन ८०.८ प्रतिशतले घटेको देखिन्छ । सोही अवधिमा पर्यटन क्षेत्रबाट हुने विदेशी मुद्रा आर्जनमा करिब ७० प्रतिशतले कमी आएको छ । सन् २०१९ मा कुल विदेशी पर्यटक आगमनको संख्या ११ लाख ९७ हजार एक सय ९१ रहँदा सो संख्या सन् २०२० मा २ लाख ३० हजार ८५, सन् २०२१ मा ३२ हजार ९ सय ९७ जना र सन् २०२२ मा ६ लाख १४ हजार १४८ पर्यटक नेपाल आएका थिए । यसले गर्दा कोभिडअघिको तुलनामा ५० प्रतिशत मात्र पर्यटक आएको देखिन्छ । यसबीचमा नयाँ होटलहरू पनि आए । एकातिर होटलको संख्या बढ्नु र अर्कोतिर पर्यटक आधाले घट्दा व्यवसाय अप्ठ्यारोमा छ ।

यूएनडब्ल्यूटीओ (यूएन वल्र्ड टुरिजम अर्गनाइजेशन)को पछिल्लो तथ्यांकले पश्चिम एसियामा पर्यटन व्यवसाय ८५ प्रतिशत पुनर्बहाली भइसकेको देखाउँछ । यस्तै अमेरिका र युरोप ७५÷७५ प्रतिशत पुनर्बहाली भएको छ । किनकि उनीहरूको एकअर्का देशमा पर्यटक आगमन दोहोरो रूपमा हुन्छ । दक्षिण एशियामा चाहिँ २३ प्रतिशत मात्र सुधार भएको देखिन्छ । यो अवस्थाबाट नेपाल अलग छैन, यहाँको पर्यटन पनि सुस्त नै छ ।

पर्यटन भन्नेबित्तिकै त्यहाँ कनेक्टिभिटीको पाटो पनि जोडिन्छ । कोभिडपछि हवाई टिकटको मूल्य एकदमै बढेको छ । घुम्नु मानिसको स्वभाव हो, रुचि हो । यसो भन्दैमा महँगो टिकट लिएर अमेरिका, युरोपदेखि हाम्रो मुलुकसम्म आउनुभन्दा उनीहरूलाई नजिककै गन्तव्यमा घुम्नु लाभदायी हुन्छ । यसरी हेर्दा अहिले नेपालको पर्यटन क्षेत्र चुनौतीपूर्ण देखिन्छ । होटलकै सवालमा पनि साना–साना धेरै होटल बन्द नै भइसकेका छन् । परिस्थिति राम्रो छैन, यस्तो समयमा धैर्य गर्नुको विकल्प पनि देखिँदैन ।

कोभिडबाट प्रभावित होटल लगायत व्यवसायको पुनरुत्थानका लागि उनीहरूले बैंकबाट लिएको कर्जाको ब्याजदर घटाइनुपर्छ । पुनर्कर्जाको निरन्तरता र कर्जा पुनर्तालिकीकरण हुनुपर्छ । कोभिडका बेला यस्ता सहुलियत दिइएको थियो । सरकारको दृष्टिमा पर्यटन लयमा फर्किसक्यो भन्ने छ । तर वास्तविकता त्यस्तो छैन । व्यवसायमा मन्दी आएकाले साँवा–ब्याज तिर्ने बेला व्यवसायीलाई समस्या छ ।
सरकारलाई हामीले अहिलेको परिस्थिति हेरेर के कति गर्न सकिन्छ गर्नुहोस् भनेका छौं । अहिलेको समयमा यो उद्योगलाई बचाउनु नै ठूलो कुरा हो । सरकारबाट केही व्यवस्था भएन, गरिएन भने पर्यटन उद्योग झनै समस्यामा पर्छन् । पर्यटन उद्योग समस्यामा पर्नु भनेको विदेशी मुद्रा आर्जनको स्रोतमा असर पर्नु पनि हो ।

पर्यटनका लागि नेपाल प्राकृतिक स्रोतसाधनले सम्पन्न मुलुक हो । पर्यावरणीय रूपले पनि एकदमै उपयुक्त छ । तर यस्ता सम्भावना र स्रोत छन् भनेर मात्र हुँदैन । यसको अधिकतम सदुपयोग पनि हुनुपर्छ । हाम्रा पर्यटकीय पूर्वाधारमा सुधार गर्न पनि त्यत्तिकै आवश्यक छ । हाम्रा पर्यटकीय गन्तव्यलाई वर्गीकृत गनुपर्छ । धार्मिक पर्यटन, साहसिक पर्यटन, खेल पर्यटन लगायत पर्यटन विधाको पहिचान गरेर त्यसको प्रचार प्रसार पनि गर्नुपर्छ । यसका लागि पनि स्तरीय पूर्वाधारको खाँचो पर्छ । आतिथ्य सेवाको गुणस्तर पनि त्यत्तिकै आवश्यक छ । खानाको स्वच्छता, सरसफाइ हुनुपर्छ । यसका लागि जनशक्तिलाई तालिम दिनुपर्छ । बाटोकै कुरा गर्दा ठाउँ ठाउँमा शौचालयको व्यवस्था हुनुप¥यो । त्यो पनि सफा र स्तरीय हुनुपर्छ ।
विश्वमा हाम्रो पर्यटनलाई कसरी बजारीकरण गर्ने भन्नेतर्फ सरकारको काम लक्षित हुनुपर्छ । नेपाल एयरलाइन्सको क्षमता विस्तार गरी विश्वका धेरै देशबाट पर्यटक ल्याउने वातावरण तयार गर्नुपर्छ । राष्ट्रिय ध्वजावाहक विमानले नै सेवा दिँदा पर्यटकलाई तुलनात्मक रूपमा सस्तो पनि पर्छ । त्यसो हुँदा उनीहरू आकर्षित हुन सक्छन् । आन्तरिक हवाई यात्राको सुरक्षा पनि निकै महत्वपूर्ण हुन्छ । हवाई सेवा सुरक्षित छैन भन्ने सन्देश जाँदा त्यसले पर्यटक आगमनमा ठूलो धक्का लाग्छ । सुरक्षाकै विषय सडक यातायातमा पनि लागू हुन्छ । यस्ता कुरामा सरकारले निजीक्षेत्रसँगको सहकार्यमा सुधार गर्नुपर्छ ।
पर्यटन क्षेत्रलाई लयमा फर्काउन सरकार र निजीक्षेत्रबीच सहकार्य र समन्वयको खाँचो छ । सरकारको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने खालका प्रचार प्रसारका कार्यक्रम ल्याउनुपर्छ । अहिले पर्यटन क्षेत्र शिथिल हुँदा यस क्षेत्रका जनशक्ति बाहिरिने क्रम बढेकाले उनीहरूलाई रोक्न पनि यस क्षेत्रको शीघ्र प्रवद्र्धन हुनुपर्छ । यसो हुन नसकेको खण्डमा भोलि यो क्षेत्र सुधार हुँदै गएको अवस्थामा आतिथ्य सेवाका दक्ष जनशक्ति आपूर्तिमै चुनौती हुन्छ । यसमा सरकारले पर्यटन व्यवसायीलाई विश्वासमा लिएर काम गर्नुपर्छ । सरकारले यस क्षेत्रका सल्लाह, सुझावलाई मनन गर्दै कार्यान्वयनमा जोड दिनुपर्छ ।

नेपालका लागि पर्यटन आर्थिक विकास र समृद्धिको प्रमुख एक आधार हो । पर्यटन अन्य धेरै क्षेत्रसँग प्रत्यक्ष जोडिएको व्यवसाय पनि हो । जस्तै, कृषिसँग यो व्यवसायको निकट सम्बन्ध छ । हाम्रो रैथाने, प्रांगारिक खानेकुरा पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण आधार हुन् । हामीले पर्यटकलाई मौलिक स्थानीय खानेकुराको स्वाद चखाउन सक्दा त्यो नै हाम्रो पर्यटनको विशेषता बन्छ । पर्यटन क्षेत्रको विकासले कृषि क्षेत्रलाई पनि टेवा पुग्छ । नेपालको जनसंख्याका ठूलो हिस्सा कृषिमै निर्भर भएकाले सम्बद्ध कृषकहरूले पनि यसबाट राम्रो लाभ हासिल गर्न सक्छन् । पर्यटन क्षेत्रको प्रतिफल ग्रामीण समुदायमा पु¥याउन स्थानीय जनतालाई पर्यटन सेवामा सहभागी गराउनुपर्छ । स्थानीयत समुदायको जीवनस्तर सुधार गर्न होमस्टे कार्यक्रम आजको दिनमा प्रमुख पर्यटनको गन्तव्य देखिन्छ । ग्रामीण जनजीवन र हाम्रो मौलिक संस्कृतिबारे जानकारी दिँदै नेपाली रीतिरिवाज, कला, संस्कृति र रहनसहनको अवगत गराउँदै पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।

पर्यटन क्षेत्रको उन्नयनका लागि सरकार, निजीक्षेत्र, विज्ञ, विशेषज्ञहरू समेत बसेर ठोस योजना तय गर्नुपर्छ । एउटा समयसीमा नै तय गरेर पर्यटनमा कति समयमा कति काम गर्ने, कसरी गर्ने, स्रोधसाधन कसरी जुटाउने भन्ने आधारसहितको स्पष्ट कार्ययोजनासहित अघि बढ्नुको विकल्प छैन । पर्यटनसँग सम्बद्ध संस्थाहरूबीच पनि प्रभावकारी सहकार्य हुनुपर्छ । अथाह सम्भावना भएर पनि त्यसको उपयोग नहुँदासम्म उपलब्धि हासिल हुन सक्दैन । हामीसँग उपलब्ध सम्भावनाको उपयोग कसरी गर्ने भन्ने नै अहिलेको प्रमुख सवाल हो । पर्यटकीय सम्भावनाबाट साँच्चै दिगो लाभ लिने हो भने सरकारका नीति, योजना र कार्यक्रमहरू यसतर्फ केन्द्रित हुनुपर्छ । यस्ता कार्यक्रमको कार्यान्वयन र त्यसको पुनरवलोकन पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

पर्यटन क्षेत्रले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा ७ प्रतिशत योगदान दिएको छ । एक जना पर्यटक आउँदा कम्तीमा १० जनाले काम पाउँछन् । यसले कृषिदेखि हस्तकलासम्म मूल्यश्रृंखला निर्माण गर्न सघाउँछ । पर्यटनले बहुआयामिक क्षेत्रमा प्रत्यक्ष–अप्रत्यक्ष सहयोग पु¥याउने भएकाले यसको महत्व सर्वोपरि छ । यो यथार्थ सरकारले गम्भीर रूपमा बुझ्नुपर्छ ।

पर्यटन पुनरुत्थानका लागि नेपाल सरकार र विभिन्न प्रदेश सरकारहरूले बजेटमार्फत घोषणा गरेका सरकारी कर्मचारीलाई पर्यटन बिदा उपलब्ध गराउनेलगायतका कार्यक्रमलाई कार्यान्वयन गर्नु पनि आवश्यक देखिन्छ । पर्यटन व्यवसायीहरूलाई कर छुटलगायत वस्तु तथा सेवामा विशेष सुविधा र सहुलियतका कार्यक्रमहरू सञ्चालन गरी पर्यटन व्यवसायलाई सुचारु गर्दै आन्तरिक पर्यटनलाई बढावा दिनुपर्छ ।

बाह्य पर्यटक आगमनको पछिल्लो तथ्यांकले कोभिडअघिको अवस्थामा पुग्न अझै केही समय लाग्ने देखिएको छ । त्यसो हुँदा सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि नयाँ कार्यक्रमहरू तत्काल सार्वजनिक गरी आमनागरिकलाई आफ्नै देशको विभिन्न पर्यटकीय स्थलको भ्रमणमा सहुलियत तथा बिदा उपलब्ध गराउनुपर्छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न नेपाल सरकार, प्रदेश र स्थानीय सरकार साथै निजीक्षेत्रले व्यावसायिक पर्यटन, पर्वतारोहण, पदयात्रा पर्यटन, जलयात्रा, साहसिक पर्यटन जल, स्थल र वायुमा आधारित, सांस्कृतिक पर्यटन, धार्मिक, खेल, चलचित्र, शैक्षिक पर्यटन र कृषि पर्यटन जस्ता हाम्रा पर्यटनका सम्भाव्य क्षेत्रहरूको एकीकृत विकास र प्रवद्र्धनमा ध्यान दिनुपर्छ । यी क्षेत्रको विकासमा लगानी, प्रसारप्रचार, विकास र पहिचान गर्न सके पर्यटनको पुनरुत्थान भई मुलुकको आर्थिक–सामाजिक विकासमा ठूलो टेवा पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x