विद्युत्को व्यापार सुनिश्चित गर्न सके खर्बौंको भित्र्याउन सकिन्छ: प्रधानमन्त्री दाहाल
काठमाण्डौं, ९ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालमा उत्पादित विद्युत्को व्यापार सुनिश्चित गर्न सके नेपालमा खर्बौंको वैदेशिक लगानी आउन सक्ने बताएका छन् । शुक्रबार काठमाडौंमा भएको नेपाल उद्योग परिसंघको २०औँ वार्षिक साधरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विद्युतमा खर्बौंको लगानी आउनसके मुलुकको अर्थतन्त्रका समस्या र चुनौती समाधान गर्न सहज हुने बताएका हुन्।
सरकारले धेरै मेहनत गरेर अहिले नेपाल–भारत सम्बन्धलाई विश्वासको नयाँ धरातल दिएको बताउँदै उनले दुई देशबीचको सम्बन्ध व्यापार तथा कृषि क्षेत्र विशेष जोड दिएको पनि प्रस्ट पारे ।
यस्तै उक्त कार्यक्रममा बाेल्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले पर्यटन, कृषि व्यवसाय, आईटी र हाइड्रोपावरको क्षेत्रमा लगानी बढाउन सकियो भने प्रतिस्पर्धा बजारबाट फाइदा उठाउन सकिने बताए । चलायमान अर्थतन्त्र निर्माणका लागि सरकार प्रतिवद्ध रहेकाे भन्दै उनले निर्यात बढाएर आयात घटाउनु पर्ने बताए ।
यस्तै अर्थमन्त्री डा. महतले मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने कुरामा विश्वस्त रहेकाे बताए ।
यस्तै सांसद विनोद चौधरीले नेपालमा चाहिने मल सरकारले दिन नसकेको बताए ।नेपालमा पाँच लाख टन मल अवैधरूपमा आउने गरेको दाबीसमेत उनले गरे । सांसद चौधरीले नेपालमा कर बढी रहेको पनि टिप्पणी गर्दै कर मात्र थुपारेर नहुने भन्दै उनले यसलाई घटाउन आवश्यक रहेको तर्क गरे ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले सरकारले एफपीओ र मर्जर तथा एक्विजेसनमा कर आकर्षित गर्दा लगानीकर्ता हच्किन थालेको भन्दै यो नीति संशोधन गर्नुपर्ने बताएका छन् ।यो नसच्याए व्यवसायीले पुँजीवृद्धि गर्न हतोत्साहित गर्ने र वैदेशिक लगानीलाई पनि निरुत्साहित गर्ने बताए ।