कृषि पर्यटनको केन्द्र बन्दै हसेरा फार्म
काठमाडौं, १४ असार । पछिल्ला वर्षहरूमा नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै गए पनि जनसंख्याको ठूलो हिस्सा अझै पनि यस क्षेत्रमै आश्रित छ । कृषिमा ५० प्रतिशत जनसंख्या आबद्ध हुनुले पनि यस क्षेत्रको महत्व र योगदान उच्च रहेको स्पष्ट हुन्छ । यद्यपि कृषिका सम्भावना र अवसरको उच्चतम सदुपयोग भने गर्न सकिएको छैन । कृषिलाई व्यावसायिक र बढी उत्पादनमुखी बनाउने नाममा रासायनिक मल तथा विषादीको प्रयोग बढ्दै गए पनि त्यसको पाश्र्वप्रभाव निकै डरलाग्दो बन्दै गएको छ । यस्तोमा दिगो र वातावरणमैत्री कृषि प्रणालीको आवश्यकता बोध हुँदै गर्दा पर्माकल्चर एक महत्वपूर्ण विकल्पको रूपमा देखिएको छ, जसलाई विश्वका धेरै देशले अवलम्बन गरेका छन् भने नेपालमा पनि यसको प्रयोग हुन थालेको छ ।
नेपालमा पर्माकल्चरको प्रयोग, अनुसन्धान र विस्तारको क्षेत्रमा काम गरिरहेको सम्भवतः पहिलो संस्था हो– हसेरा एग्रिकल्चर रिसर्च एन्ड ट्रेनिङ सेन्टर । काभ्रे धुलिखेल नगरपालिकाको पात्लेखेतमा रहेको उक्त संस्थाले सञ्चालन गरिरहेको पर्माकल्चर फार्म हाल कृषि अध्ययन, अनुसन्धानका लागि मात्र नभई कृषिपर्यटनको समेत आकर्षक गन्तव्य बन्दै गएको छ ।
हो, काठमाडौं शहर कोलाहलबाट केही पर गएर शान्त वातावरणमा केही समय बिताउन र अर्ग्यानिक खान खाने सोचमा हुनुहुन्छ भने एउटा राम्रो विकल्प हुन सक्छ हसेरा पर्माकल्चर फार्म । यहाँ तपाईं शान्त वातावरणमा परिवार तथा साथीभाइसँग रमाउन र फार्ममा उत्पादित स्वस्थ, ताजा, स्वादिष्ट र अर्ग्यानिक खानाको मजा लिन सक्नुहुन्छ । साथै यहाँ कृषिमा रुचि राख्ने कृषकहरुले प्रांगारिक कृषिखेती सम्बन्धी तालिम समेत लिन सक्छन् ।
यहाँ आउने पर्यटकलाई फार्मले बाहिरको उत्पादन खुवाउँदैन । यहीँ उत्पादित सागपात, फलफुल तथा दुधदहीको मजा लिन सकिन्छ । हाल फार्मको बारीमा करिब १० प्रकारका तरकारी उपलब्ध छन् । सिजनअनुसार तरकारीका प्रकारमा पनि विविधता हुने गरेको छ । यस फार्मका सञ्चालक विवेक धिताल भन्छन्, ‘पर्यटकहरू यहाँ बारी घुमेर, अर्ग्यानिक खाना खाएर र नयाँ कुरा सिकेर आनन्दित हुन्छन् ।’
यहाँ पर्यटकहरु विशेषगरी विभिन्न अध्ययन, अनुसन्धान गर्न, थेसिस लेख्न र शान्त वातावरणमा रमाउन आउँछन् । फार्ममा ३० जनासम्म राख्न सक्ने क्षमता छ । सिजनमा यो फार्म आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुन्छ । अन्य सिजनमा पनि दैनिक १५÷२० जना आन्तरिक तथा ५–७ जना बाह्य पर्यटक आउने गरेका छन् । बाह्य पर्यटकहरू १÷२ महिना नै बसेर जाने गरेको पनि फार्मका सञ्चालक धिताल बताउँछन् ।
फार्ममा पर्माकल्चर र प्रांगारिक खेती अनुसरण र प्रवद्र्धन गरिने सञ्चालक धितालले बताए । उनले भने, ‘हसेरा पर्माकल्चर सेन्टर अग्र्यानिक हरियो सागपात फलफुल, डेरीजन्य पदार्थ र मासुजन्य कृषिउपजको प्रांगारिक उत्पादन प्रवद्र्धन र बजारीकरण गर्ने र गर्न सिकाउने थलो हो ।’ यहाँ १५ देखि २५ जनाको समूहमा ७ दिनको तालिम दिइन्छ ।
३० वर्षअघि गोविन्द शर्मा (विवेक धितालका बुबा) दम्पतीले ५० हजारमा शुरु गरेको हसेरा कृषि अनुसन्धान तथा प्रशिक्षण केन्द्र ९ रोपनीमा फैलिएको छ । यहाँ ६०० भन्दा बढी थरीका बोटबिरुवा छन् । उनको यो आफ्नै जमिन हो । यहाँ आएका पर्यटकले चौबिसै घण्टा सेवा पाउँछन् । फार्ममा पारिवारिक वातावरणमैत्री भएकाले धुम्रपान र मद्यपान निषेध गरिएको छ ।
शर्माले नेपालमा रसायनमुक्त प्रांगारिक खेती सम्भव छ भनेर नै यस फार्मको शुरुवात गरेका थिए । यो व्यवसाय नितान्त उनका परिवारले नै सम्हाल्दै आएका छन्, जहाँ उनीहरूले कृषिमा रुचि राख्ने किसान तथा प्राविधिकहरुलाई कृषियोग्य जमिनको वातावरण र माटो सुहाउँदो तालिम दिने गरेका छन् ।
यो केन्द्र देशभरका ७७ वटै जिल्लाका किसान र प्राविधिकहरुलाई तालिम दिन सफल भएको छ । यहाँ पर्माकल्चरको सिद्धान्त सिक्न विश्वका १०३ देशबाट पर्यटक आएको धिताल बताउँछन् । उनी भन्छन्, ‘कृषिलाई पर्यटनसँग जोड्नु नै पर्माकल्चरको सिद्धान्त हो । यहाँबाट तालिम लिएर गएकाहरुले पर्यावरणीय कृषितिर लागेका छन् । हामीले प्रांगारिक कृषि सम्भव छैन हुँदैन भन्ने भ्रम चिरेका छौं ।’
उनीहरुले त्यहाँभन्दा बाहिर पनि किसानहरुलाई सहजीकरण गर्ने गरेका छन् । उनीहरु देशका झण्डै १५ जिल्लामा प्राङ्गारिक प्रमाणीकरणको कामका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा किसानसँग जोडिएका छन् ।
धितालले भने, ‘हामीले राज्य स्तरबाट कुनै प्रकारको अनुदान लिएका छैनौं । प्रांगारिक प्रमाणीकरणको तरिका निधारण गर्न र प्रांगारिक कृषिको नीति कस्तो हुनुपर्छ भन्ने हिसाबले राज्यसँग प्रत्यक्ष सम्पर्कमा बसेका छौं । ३०–४० वर्षयता रैथाने कृषिबाट नाम मात्रको व्यावसायिक कृषिमा परिणत भएको अवस्था छ । दिनप्रतिदिन विषादीको प्रयोग बढिरहेको छ । कृषिको आधुनिकीकरण नाममा सरकारले पहाडका कुना कन्दरातिर समेत रासायनिक मल बाँडिरहेको अवस्था छ । यसले प्रांगारिक कृषिलाई छायाँमा पारेको छ ।’
यसको साटो सरकारले प्रांगारिकमुखी बजार सम्यन्त्र बनाउन सके र बजार अभाव तथा ढुवानीको असहजता हटाउन सके बढीभन्दा बढी कृषक प्रांगारिक खेतीतिर आकर्षित हुन सक्ने उनले बताए । साथै प्रांगारिक कृषि गरिरहेका कृषक लाभान्वित हुन सक्ने उनको भनाइ छ ।
‘हाम्रो बजारको तरीका अस्तव्यस्त छ । राज्यले नीतिगत हिसाबले सम्बोधन गर्न सक्ने भनेकै बजार व्यवस्थापन हो । उत्पादन गरेका चिजले बजार पाउँछ पाउदैन भन्ने किसान चिन्तित छन् । बजारमा प्रांगारिक उत्पादन हो भन्दा पनि ग्राहकले विश्वास गरिहाल्ने अवस्था छैन,’ उनले भने, ‘किसानले यसलाई प्रमाणीकरण गर्न सकिरहेका छैनन् । यसको पहिचान गर्न सक्ने वातावरण बनाउन आवश्यक छ ।’
यस्तो छ पर्माकल्चरको इतिहास
पर्माकल्चर खेती प्रणालीलाई सन् १९७० को दशकमा दुई सहकर्मी बिल मोलिसन र डिभिड होम्ग्रेनले अस्ट्रेलियामा तयार पारेका थिए । सुरुवातमा उनीहरूले यसलाई पर्मानेन्ट एग्रिकल्चर (दिगो कृषि)को नाम दिएका थिए । पछि यो छोटकरीमा यी दुई शब्दको मिलाएर पर्माकल्चर भन्न थालियो । समग्रमा भन्नुपर्दा पर्माकल्चर प्राकृतिक खेतीको खाकामा काम गर्ने माध्यम हो, जसलाई आधुनिक कृषिको नाममा सिंगो पृथ्वीलाई मरुभूमीकरण हुनबाट जोगाउन सक्ने कृषि प्रणाली मानिएको छ ।