Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

मेटाको सामाजिक सञ्जाल ‘थ्रेड्स’, ट्विटरका लागि अहिलेसम्मकै ठूलो प्रतिस्पर्धी

मेटाको सामाजिक सञ्जाल ‘थ्रेड्स’, ट्विटरका लागि अहिलेसम्मकै ठूलो प्रतिस्पर्धी

काठमाडौं, २२ असार । लामो समयदेखिको चर्चालाई वास्तविकतामा साकार पार्दै सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटाले अन्ततः ट्विटरको विकल्पमा ‘थ्रेड्स’ लञ्च गरेको छ । कम्पनीले ट्विटरलाई कडा टक्कर दिने उद्देश्यसहित बिहीवार सामाजिक सञ्जाल ‘थ्रेड्स’को एप सार्वजनिक गरेको हो । कम्पनीले लामो समयदेखि सो एपमा काम गरिरहेको थियो ।

विश्वकै सबैभन्दा बढी प्रयोगकर्ता भएको सामाजिक सञ्जाल फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्ग आफै पनि सामाजिक सञ्जालमा सक्रिय छन् ।

थ्रेड्स एप गत सोमवार राति पहिलो पटक युरोपमा गुगल प्ले स्टोरमा राखिएको थियो । बिहीवार औपचारिक रूपमा एप सार्वजनिक भएसँगै यो समाचार तयार पार्दाको समय (शुक्रवार ११ बजे)सम्ममा १ करोडभन्दा बढीले डाउनलोड गरिसकेका छन् भने २० हजारभन्दा बढीले यसको रिभ्यू गरेका छन् । जसबाट एपले ५ मा ४.५ रेटिङ पाएको छ । कुनै पनि प्रडक्ट शुरुआतमै यो स्तरको रेटिङ पाउनुले विशेष महत्व राख्छ । रिभ्यु गर्ने अधिकांशले यो एपका विशेषताको चर्चा गरेका छन् ।

निःशुल्क उपलब्ध रहेको यो एपले ट्विटरमा आएको विभिन्न परिवर्तनका कारण असन्तुष्ट बनेका प्रयोगकर्ताहरुलाई आकर्षण गर्न सक्ने देखिएको छ । थ्रेड्स एप नेपालसहित एक सय वटा देशमा डाउनलोडका लागि उपलब्ध छ ।

यसमा प्रयोगकर्ताले ५०० अक्षरसम्मका पोस्टहरू गर्न सक्छन् । साथै अरू धेरै विशेषता ट्विटरसँग मिल्दाजुल्दा नै रहेका छन् । यो छुट्टै एप भए पनि प्रयोगकर्ताले आफूले प्रयोग गरिरहेको इन्स्टाग्राम खाताबाटै यसमा लगइन गर्न सक्नेछन् । यसमा ट्विटरमा जस्तै अरू प्रयोगकर्तालाई अनफलो, ब्लक र रिपोर्ट गर्न पनि सकिन्छ । इन्स्टाग्राममा ब्लक भएका खाताहरू थ्रेड्समा स्वतः ब्लक हुन्छन् ।

अमेरिकी खर्बपति व्यापारी एलन मस्कले घरेलु माइक्रोब्लगिङ वेबसाइट ट्विटर किनेयता एप विवादमा मुछिरहेको छ । कम्पनीले हालै मात्रै ट्विट पोष्टको संख्यामा पनि सीमा तोकेको छ । ट्विटर राम्ररी चलाए २ अर्बभन्दा धेरै प्रयोगकर्तालाई तान्न सक्ने फेसबुकका सीईओ जुकरबर्गको भनाइ छ । ट्विटरले धेरै प्रयोगकर्ता तान्न नसकेको देखेर जुकरबर्गले यो एप ल्याएका हुन् ।

हालैका वर्षमा ट्विटर जस्ता एपहरू आउने क्रम जारी छ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ट्य्रुथ सोसल, म्याष्टोडन, ब्लुस्काई यसका केही उदाहरण हुन् । तर, ‘थ्रेड्स’ ट्विटरको लागि अहिलेसम्मकै ठूलो प्रतिस्पर्धी हुने अनुमान गरिएको छ । मार्क जुकरबर्ग अरुको आइडिया चोरेर त्यस्तै खालको एप वा फिचर ल्याउन माहिर मानिन्छन् । उनको यो पछिल्लो प्रयास कत्तिको सफल हुन्छ, त्यो भने हेर्न बाँकी नै छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x